काठमाडौं, २२ फागुन – राष्ट्रिय एकता कायम गर्न तथा नयाँ संविधानप्रति फिँजाइएका भ्रम निवारण गर्न भन्दै नेकपा एमालेले शनिवार झापाको काकडभिट्टाबाट शुरु गरेको मेची–महाकाली यात्रा सोमवार कोशीबाट पश्चिम लाग्दैछ ।
अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट शुरु गरिएको मेची–महाकाली यात्राको उद्घाटन कार्यक्रम, कोशीपूर्वका मोरङ, सुनसरीमा कार्यकर्ता र सर्वसाधारणको उपस्थितिले एमाले नेताहरू हौसिएका देखिन्छन् । झापा, मोरङ र सुनसरीमा एमालेको सभामा सर्वसाधारणको उल्लेख्य उपस्थिति अपेक्षित नै थियो ।
झापाबाट शुरु गरिएपनि मेची–महाकाली अभियानको मुख्य चासो चाहिँ प्रदेश नम्बर दुईका आठ जिल्लामा हुने प्रदर्शन हुनेछ । मधेशी मोर्चाको बाहुल्य रहेको प्रदेश नम्बर दुईमा एमाले अभियान असफल बनाउन मोर्चा लागिपरेको छ । औपचारिक निर्णय नगरेपनि प्रदेश २ को सिमाना सप्तरीमा एमाले अभियानविरुद्ध पछिल्ला दिनमा दिनहुँजसो प्रदर्शन भएका छन् ।
मेची–महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरीमा एमालेका स्थानीय नेता कार्यकर्तामाथि मोर्चाका कार्यकर्ताले आक्रमण गर्ने र कालोमोसो दल्ने प्रयास गरेका थिए ।
नयाँ संविधान जारी गरिएपछि वाक्–युद्ध गरिरहेका एमाले र मोर्चाका कार्यकर्ता सोमवारदेखि आमनेसामने हुनेछन् । मोर्चाले एमालेलाई मधेशविरोधी पार्टीको भएको आरोप लगाउँदै ‘एमालेमुक्त’ मधेश बनाउने बताउँदै आएको छ ।
प्रदेश नम्बर २ मा एमालेलाई कार्यक्रम गर्न नदिने मोर्चाको योजना र जसरी पनि अभियान सञ्चालन गरिछाड्ने एमालेको अडान यतिबेला प्रतिष्ठाको लडाईं बनेको छ । एमालेले मेची–महाकाली अभियान घोषणा गरेलगत्तै मोर्चाले एमालेको अभियान विफल बनाउने बताउँदै आएको थियो । प्रदेश नम्बर २ मा सोमवारदेखि हुने प्रदर्शनले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने देखिन्छ ।
सम्भावित झडपका कारण एमालेले सप्तरीको राजविराजमा सोमवार हुने कार्यक्रमको स्थान परिवर्तन गरेको छ । सप्तरी, सिराहा, धनुषा लगायतका जिल्लामा हुनसक्ने सम्भावित झडपलाई लिएर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री विमलेन्द्र निधिलाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
एमाले स्थायी समिति सदस्य एवं सप्तरीका सांसद सत्यनारायण मण्डलले सोमवारको कार्यक्रमको तयारी पुगेको र कार्यक्रम शान्तिपूर्ण हुने बताए । एमाले कार्यक्रम बिथोल्न मोर्चाका कार्यकर्ताले सोमवार जिल्ला बन्द र कार्यक्रमको पूर्वसन्ध्यामा आइतवार साँझ राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
सुरक्षालाई मद्देनजर राखेर राजविराज मैदानमा हुने भनिएको कार्यक्रम राजविराज औद्योगिक क्षेत्रमा सारिएको सदस्य मण्डलले बताए ।
‘प्रशासनको आग्रहका कारण चारैतर्फ पर्खालले घेरिएको ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका छौं,’ उनले भने । प्रशासनले सोमवार कुनै पनि घरेलु हात हतियार लिएर नहिँड्न आग्रह गर्दै आइतवार साँझ राजविराजमा माइकिङ गरेको छ ।
‘हाम्रो कार्यक्रम असफल बनाउन मोर्चाका कार्यकर्ताले बन्दको आह्वान गरेका छन् र एमालेविरुद्ध नारा लगाउँदै हिँडेका छन्,’ मण्डलले लोकान्तरसँग भने, ‘हाम्रो कार्यक्रम शान्तिपूर्ण हुन्छ । सबै तयारी पूरा भएको छ ।’
सप्तरीका प्रमुख जिल्ला अधिकारी उदयप्रसाद तिमिल्सनाले एमाले कार्यत्रमका लागि शान्ति सुरक्षामा कुनै कमी आउन नदिने बताएका छन् ।
सभालाई एमाले अध्यक्ष केपी ओलीलगायत दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । मोर्चाका केन्द्रीय स्तरका नेताहरूले एमालेको कार्यक्रम बिथोल्न निर्देशन नदिइएको दाबी गरेका छन् ।
ओलीले भने – एमाले सरकारबाट हटे पनि जनताको मनबाट हटेको छैन
यसैविच, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले सरकारबाट हटे पनि जनताको मनबाट नहटेको बताएका छन्। मेची-महाकाली अभियान अन्तर्गत आइतबार मोरङको विरटाचोकको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले भनेपछि के बाल के युवा के वृद्ध सबै हुरूक्कै हुने बताए।
गाउँ-गाउँबाट अभियानमा सहभागी हुन आग्रह गर्दै ओलीले भने,‘गाडी हुनेहरू गाडी लिएर आउ, मोटरसाइकल हुनेहरू मोटरसाइकल लिएर आउ केही नहुनेहरू मोटरसाइकलको पछाडी बसेर आउ या बसमा आउ’, उनले भने,‘जसरी भएपनि हाम्रो अभियानमा सहभागी भएर देखाउँ।’
उनले राष्ट्रियताको सवालमा कुनै पनि हालतमा एमाले नझुक्ने भन्दै यो एउटा राष्ट्रियताको लडाइँसमेत भएबो बताए। उनले आफ्नो अभियान कसैले रोकेर र भाँडेर नरोकिने भन्दै जसरी भए पनि पुरा गरेरै छोड्ने बताए।
यस्तै संसदीय दलका उप नेता सुवास नेम्बाङले हामीले संविधानलाई सर्वस्वीकार्य बनाएका भन्दै यही कुरा जनतालाई बुझाउन हिँडेका बताए। ‘हामीले के पहाड, के तराई के हिमाल सबैका लागि सर्वस्वीकार्य संविधान बनाएका हौ,’ उनले भने,‘ यही कुरा जनतालाई भन्न हामी देश दौडाहामा छौ।’ यस्तै एमालेका अर्का नेता भीम रावलले नेपाली भाषालाई कमजोर बनाएर हिन्दी भाषालाई ल्याउन खोजेको भन्दै यस्तो अभियानलाई एमालेले कहिलै नमान्ने बताए।
पूर्वबाट जनताको अपार मायाकासाथ कोशी तर्दै एमाले
Previous Articleबागलुङको रिघामा सुख्खा पहिरोले दरमखोला रोकियो
Next Article हजुर यहाँ कोठा खाली छ कि !