बागलुङ, २२ फागुन – रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षत्रीय पुरस्कार तिन स्रष्टालाई प्रदान गरिने भएको छ । मोफसलकै पहिलो पुरस्कार संस्थाको रुपमा रहेको रत्न श्रेष्ठ पुरस्कार संस्था बागलुङले हरेक दुई दुई बर्षमा प्रदान गर्दै आएको यस बर्षको गद्य बिधाको पुरस्कार डा.मतिप्रसाद ढकाललाई प्रदान गर्ने निर्णय गरिएको छ । संस्थाको शनिवार बसेको बैठकले गहिरो अध्ययन पछि पुरस्कार छनोट समितिले गरेको सिफारिसका आधारमा ‘चुदिरम्घामा पुर्नजन्म’ निवन्ध संग्रहका लागि बागलुङको अमलाचौरमा जन्मिएर हाल गैडाकोटमा बस्दै आएका ढकाललाई १९ औं संस्करणको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको संस्थाका संस्थापक संरक्षक प्रेम छोटाले बताए । पुरस्कारको राशी २५ हजार र सम्मान पत्रको रहेको छ । पद्य बिधातर्फ ‘प्रक्षेपण’ मुक्तक संग्रहका लागि म्याग्दीका भक्त कार्की र भोको पेट कविता संग्रहका लागि शारदा सुवेदीलाई संयुक्त रुपमा रत्न श्रेष्ठ पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थाका सदस्य सचिव महेशचन्द्र प्रधानले बताए । पुरस्कृत कार्की र सुवेदीलाई नगद १२ हजार ५ सय सहित सम्मान पत्र प्रदान गरिनेछ । देशभरबाट प्राप्त भएका गद्य बिधाका ८ र पद्य बिधाका ८ कृति गरि १६ वटा मध्येबाट उत्कृष्ट छनोट गरिएको हो । बिक्रम सम्वत २०३४ सालमा साहित्यकार तथा अन्वेषक प्रेम छोटाले आफ्ना ममतामयी माता रत्नकुमारी श्रेष्ठको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका थिए । पुरस्कारबाट हालसम्म आञ्चलिक, प्रादेशिक र राष्ट्रिय स्तरका गरि ४८ जना सर्जक पुरस्कृत तथा सम्मानित भइसकेका छन् । संस्थाको पुरस्कार कोषमा ८ लाख रुपैयाँ रहेको र सोही ब्याजबाट पुरस्कार प्रदान गरिदै आइएको छ । यसैगरि, जगतचन्द्र राष्ट्रिय पुरस्कार तथा सम्मान गुल्मीका डा. शिवप्रसाद पौड्याललाई प्रदान गरिने भएको छ । कवियत्री सन्तु श्रेष्ठले आफ्ना बुवा जगतबहादुर श्रेष्ठ र आमा चन्द्रकुमारी श्रेष्ठको स्मृतिमा रत्न श्रेष्ठ पुरस्कार गुठीको संरक्षकत्वमा रहने गरि २०५८ सालमा स्थापना गर्नुभएको उक्त पुरस्कार तथा सम्मान ‘सामाजिक साँस्कृतिक सन्दर्भका नेपाली उखान’ अनुसन्धानमूलक कृतिका लागि प्रदान गरिएको हो । उक्त पुरस्कार राशी नगद २५ हजार र सम्मान पत्र रहेको संस्थाका सदस्य सचिव महेशचन्द्र प्रधानले बताए ।
Previous Article२२ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article बागलुङको रिघामा सुख्खा पहिरोले दरमखोला रोकियो