विष्णु पोखरेल
काठमाडौं, २२ फागुन – तपाईं इन्टरनेटका लागि वर्षमा कति खर्च गर्नुहुन्छ ? १ हजार, १० हजार वा १५ हजार ? सहरी क्षेत्रका केही उपभोक्ताले इन्टरनेटका लागि वर्षको पाँच/सात हजारदेखि १५/२० हजारसम्म खर्च गर्न थाले पनि नेपालीको औसत इन्टरनेट खर्चको अंक भने अझै हजारमा उक्लन सकेको छैन ।
सहरी जनताले उच्च गतिको इन्टरनेट उपभोग गरिरहेका बेला अधिकांश ग्रामीण जनता अझै सेवाबाटै वञ्चित छन् । जनसंख्याको ठूलो हिस्सा सेवाबाट वञ्चित रहेको नेपालमा प्रतिव्यक्ति इन्टरनेट खर्च कति होला त ? नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन तथ्यांकलाई विश्लेषण गर्ने हो भने, नेपालमा प्रतिव्यक्ति इन्टरनेट खर्च ५ सय ७१ रुपैयाँ पुगेको छ । यो प्रतिवेदनमा राखिएको टेलिफोन र इन्टरनेट सेवाप्रदायकको आम्दानीलाई जनसंख्याले भाग गरि निकालिएको हो ।
प्रतिवेदनमा सबैखाले दूरसञ्चार सेवाप्रदायकले गत आर्थिक वर्षमा विभिन्न सेवाबाट गरेको आम्दानीको विवरण राखिएको छ । नेपाल टेलिकम, एनसेल, यूटीएललगायतका ठूला दूरसञ्चार कम्पनीले इन्टरनेटबाट एक वर्षमा कमाएको विवरण प्रतिवेदनमा छ । यसैगरी इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाएको रकमको प्राधिकरणले सार्वजनिक गरेको छ । त्यसैका आधारमा ‘आईएसपी’ को वार्षिक आय निकालिएको हो । उनीहरूले वार्षिक आम्दानीको २ प्रतिशत रकम कोषमा बुझाउँदै आएका छन् ।
प्राधिकरणको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपाल टेलिकम, एनसेल, यूटीएल र विभिन्न ३७ वटा ‘आईएसपी’ ले इन्टरनेटबाट मात्र १५ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ ।
यो आम्दानीलाई २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ ले भाग गर्दा हरेक नेपालीले इन्टरनेटका लागि वर्षको ५ सय ७१ रुपैयाँ खर्च गरेको देखिएको हो । प्राधिकरणको प्रतिवेदनमा केही आईएसपीको विवरण भने समावेश छैन ।
अघिल्लो आर्थिक वर्ष (२०७१/७१) सँग तुलना गर्ने हो प्रतिव्यक्ति वार्षिक इन्टरनेट खर्च बढेको देखिन्छ ।
अघिल्लो वर्षको कुल आम्दानीलाई गत आर्थिक वर्षको आम्दानीलाई जस्तै जनसंख्याले भाग गर्दा हरेक नेपालीले वार्षिक ३ सय ४९ रुपैयाँ खर्च गर्ने देखिन्छ । आर्थिक वर्ष २०७१/७१ मा नेपाल टेलिकम, एसनेल, यूटीएल र विभिन्न सेवा प्रदायकले कुल ९ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
हरेक वर्ष इन्टरनेट सेवा
दिने कम्पनीहरूले आम्दानी बढाइरहेको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको तुलनामा गत वर्षको नेपाल टेलिकम, एनसेललगायतका ठूला कम्पनीसहित अन्य सेवाप्रदायकले पनि आम्दानी बढाएको देखिन्छ । आर्थिक वर्ष २०७१/७१ मा एनसेलले इन्टरनेट सेवाबाट ५ अर्ब २१ करोड आम्दानी गरेकोमा गत वर्ष बढाएर ८ अर्ब ४ करोड पुर्याएको छ ।
आर्थिक वर्ष २०७१/७१ मा इन्टरनेट सेवाबाट नेपाल टेलिकमले २ अर्ब २३ करोड आम्दानी गरेको कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । टेलिकमले एडीएसएल, वाइम्याक्स, जीएसएम र सीडीएम मोबाइललगायतबाट इन्टरनेट सेवा दिइरहेको छ । इन्टरनेटबाट हुने टेलिकमको आम्दानी बढेर गत वर्ष ४ अर्ब ८० करोड पुगेको छ ।
यसैगरी अन्य कम्पनीहरूको आम्दानी पनि बढेको देखिन्छ । ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गरेको रकमका आधारमा इन्टरनेट सेवाप्रदायकले आर्थिक वर्ष २०७१/७१ मा १ अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ । गत वर्ष भने उनीहरूको आम्दानी बढेर २ अर्ब ३० करोड पुगेको छ । कान्तिपुर
नेपालीको औसत इन्टरनेट खर्च वार्षिक ६ सय
Previous Articleविहे गर्न नमान्दा प्रहरीले नै गरे हत्या
Next Article इंग्लिस प्रिमियर लिग लिभरपुलले जित्यो