काठमाडौं, २१ फागुन – तीनदिनअघि बौद्धबाट अपहरणमा परेका तीन युवालाई महानगरीय अपराध महाशाखाले स्वयम्भू भगवानपाउबाट मुक्त गराएको छ । साढे ६ लाख रुपैयाँ फिरौती रकम लिएर अपहरणकारीले विशाल तामाङ, नाङडुङ तामाङ र मनदोर्जे तामाङलाई मुक्त गर्ने क्रममा अपहरणकारी र प्रहरीबीच गोली हानाहान भएको छ ।
अपहरणकारीले मागेजति रकम लिएर अपहरितका आफन्त भगवानपाउ पुगेका थिए । अपहरितलाई मुक्त गरेर रकम लिनेवित्तिकै सादा पोशाकमा रहेको प्रहरीले अपहरणकारीलाई पक्राउ गर्ने प्रयास गरेको थियो । भाग्ने क्रममा अपहरणकारीले प्रहरी टोलीमाथि नै गोली प्रहार गरेपछि जवाफी कारबाहीमा प्रहरीले गोली हानेको थियो ।
घुँडामुनी गोली लागेर घाइते भएका अपहरणकारी नुवाकोटका ४१ वर्षीय दुर्गा तामाङ पक्राउ परेका छन् । तामाङको साथबाट सिक्सर हतियार र तीन थान गोली बरामद भएको छ । तामाङको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जवाफी कारबाहीमा गोली हानेर अपहरणकारी समातिएको पुष्टि गरे । अमात्यका अनुसार करिब ६ जनाको संख्यामा अपहरणकारीहरु रहेका थिए ।
पीडितका आफन्तले शुक्रबार बिहानमात्रै महाशाखामा अपहरणबारे जानकारी दिएका थिए । अपहरणकारीले पैसा बोकेर आफन्तलाई कहिले चाबहिल, मनमैजु, त कहिले नयाँ बजार बोलाएका थिए । अपहरितका आफन्तसँगै महाशाखाबाट खटिएको सादा पोशाकका दुई टोली प्रहरीले पछ्याइरहेका थिए ।
फरार अपहरणकारीमध्ये दुई सचिन खवास र वीरबहादुर तामाङलाई प्रहरीले अमृत साईन्स क्याम्पस लैनचौर छेउबाट पक्राउ गरेको छ । यस्तै अर्का अपहरणकारी माइला भन्ने पदमबहादुर तामाङलाई बालाजुबाट पक्राउ गरेकाे छ ।
महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार पक्राउ परेका अपहरणकारीहरुको अपराधिक पृष्ठभूमि रहेको खुलेको छ । कार्कीका अनुसार डाँका मुद्दामा जेल परेका अपरहणकारीहरुबीच जेलभित्रै चिनजान भएको र सजायमुक्त हुनेबित्तिकै अपहरणको योजना बनाएको देखिन्छ । ‘थप अनुसन्धान जारी रहेको छ’ अमात्यले भने, ‘फरार अपहरणकारी पक्राउ गर्न महाशाखाको टोली खटिइरहेको छ ।’
प्रहरी र अपहरणकारीबीच गोली हानाहान, चारजना पक्राउ
Previous Articleएमालेको मेची–महाकाली राष्ट्रिय अभियान सुरु
Next Article जापानी नोटलाई नेपाली बोट, यसबाटै बन्छ ‘येन’