दमक, २१ फागुन – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधानले दिएको आदेश वाहेक अरु नमान्ने चेतावनी दिएका छन । ‘मेची–महाकाली राष्ट्रिय अभियान’ उद्घाटन गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन् । ‘एमालेले जनताले दिएको मात्र आदेश मान्छ,’ काकडभिट्टाबाट कार्यक्रममो शुभारम्भ गर्दै ओलीले भने, ‘हामी अरुले दिएका जे–पायो त्यही आदेश मान्दैनौँ ।’
प्रदेश नम्बर एकका संयोजक भीम आचार्यलाई पार्टीको र राष्ट्रिय झण्डा हस्तान्तर गर्दै ओलीले भने– ‘हामी सबै नेपाली यो सबै नेपालीको अभियान हो । राष्ट्रियता , भौगोलिक अखण्डता रक्षाका लागि गरिएको यो अभियान कसैले विथोल्न खोज्छ भने एमालेलाई मात्र होइन नेपाली जनतालाई पनि स्वीकार्य हुँदैन ।’
पार्टी महासचिव ईश्वर पोख्रेल अभियान विथोल्न खोजे एमाले चुप लागेर नबस्ने चेतावनी दिए । एमालेले आज झापा विर्तामोड र दमकमा कार्यक्रम गर्ने तयारी गरेको छ । आजै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु झापाका विभिन्न कार्यक्रममा सहभागी भए ।
एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले मधेसी जनजाति सबैको पक्षमा संविधानले अधिकार दिए पनि गलत मनसाय राख्ने र नेपाल असफल बनाउन चाहनेले गलत प्रचार गरेकाले एमालेले मेची महाकाली अभियान चलाएको बताए ।
मैदान नछाड्ने तर, भिड्न नजाने
एमालेले मधेसका नेता कार्यकर्तालाई मैदान नछाड्न र संयमित भएर अभियानको प्रचार प्रसारमा केन्दि्रत हुन निर्देशन दिएको छ । एमालेको नीति मूठभेड गर्ने नरहेको र आफ्ना धारणा मधेसी जनतामा लैजान कसैले रोकेमा त्यसको प्रतिवावद गर्ने नीति एमालेले सुनाएको छ ।
मधेस र मधेसी मोर्चा अलग अलग भएकाले मोर्चाका एजेण्डालाई मधेसी जनताका एजेण्डाका रुपमा लिन नहुने एमाले नेताहरुले बताए । सचिव भट्टराईले मधेसी मोर्चाका एजेण्डामा एमाले असहमत भएको तर, मधेसी जनताको मागको पक्षमा रहेको दाबी गरे ।
उनले २० जना मधेसी नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेपछि मधेसमा थप उत्साह आएको बताए । उनले अब मधेसमा एमालेको संगठन नयाँ ढंगले विकास हुने दावी समेत गरे ।