बागलुङ, २० फागुन
बिहिवार दिउँसो एक्कासी चलेको हावाहुरीले बागलुङ जिल्लाका बिभिन्न स्थानमा ठुलो क्षति पु¥याएको छ । जिल्लाको भिमापोखरा–४ सिरसिरेमा रहेको जनकल्याण माध्यमिक बिद्यालयको माथिल्लो भवनको टिनको छानो उडाएको छ । कक्षा ११ र १२ का लागि निर्माण गरिएको भवनको जस्ता पाताले छाएको छानो हुरीले पुरै उडाएको बिद्यालयले जनाएको छ । हुरीले विद्यालयको छानो करिब ५० मिटर टाढा पु¥याएको विद्यालयका शिक्षक चन्द्रमणी उपाध्यायले बताए । जिल्लाको दक्षिण क्षेत्रमा रहेको धुल्लुबास्कोट स्थित धुल्लु लिमुवा माविको पनि बिद्यालय भवनको छानो उडाएको छ । बिद्यालयको दुई कोठे भवनको छानो उडाएपछि शुक्रवारदेखी पठनपाठनमा समस्या भएको स्थानीय कृष्ण सापकोटाले जानकारी दिए । यस्तै, हावाहुरीले लेखानीस्थित कादेश आधारभूत निम्न माध्यमिक बिद्यालयको छानो पनि उडाई दिएको बिद्यालयले जनाएको छ । छानो उडाएपछि बालबालिकालाई कहाँ राखेर पढाउने भन्ने पिरलो बिद्यालयहरुमा थपिएको छ । हावाहुरीले जिल्लाको धुल्लुबास्कोट, भिमापोखरा, धम्जा, तंग्राम, पाला लगायतका गाविसहरुमा घरको छानो पनि उडाएको छ । यसैगरी, हावाहुरीले बालीनालीमा पनि ठुलो क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालय बागलुङका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले क्षतिग्रस्त भएका भवनको मर्मतका लागि हामी सँग बजेट नभएपनि पहल गरेर मर्मत गर्ने बताए । बिगतका बर्षमा क्षेत्रीय शिक्षा निर्देशनालयले बजेट छुट्टाउने गरेपनि अहिले मर्मतका लागि बजेट नराखेकाले शिक्षा बिभागमा कुरा गरेर मर्मतका लागि बजेट माग गर्ने जिशिअ मिश्रले बताए ।
म्याग्दीमा तीन विद्यार्थी घाईते
म्याग्दी – हावाहुरीले विद्यालयको छानो उडाउँदा म्याग्दीको भकिम्ली–२ डोलेस्थित मुसुङडोले निमाविमा तीन जना विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसो आएको हावाहुरीका कारण कक्षा ४ मा अध्ययरत अनिशा बिक, स्मृति बिक, सुस्मिता नेपाली र विजिता बिकलाई चोट लागेको विद्यालयका प्रधानध्यापक शेरबहादुर बिकले बताए । हुरीले छानो उडाउन थालेपछि भाग्ने क्रममा र कक्षा कोठाभित्र घाइते भएका विद्यार्थीलाई भकिम्ली स्वास्थ्यचौकीमा उपचार गरी परिवारको जिम्मा लगाइएको विद्यालयले जनाएको छ । हावाहुरीबाट विद्यालयका दुईवटा कोठाको छानासहितको संरचनामा क्षति पु¥याउँदा झण्डै २ लाख बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ । हावाहुरीका कारण पखेर प्रावि विद्यालयमा समेत क्षति पुगेको छ ।