म्याग्दी, १९ फागुन/जिल्लाको मराङ–५ का ३६ वर्षीय मिर्गौलापीडित महेन्द्रबहादुर गर्वुजाको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न उनका घरपरिवारले अपिल गरेका छन् । दुवै मिर्गौलामा खराबी आएपछि हाल टिचिङ अस्पताल काठमाडौंमा उपचाररत गर्वुजाको घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र उपचारमा लाग्ने लाखौँ रुपैयाँ खर्च जुटाउन कठिनाइ आएपछि उनका घरपरिवारले सक्दो सहयोग गरी पीडित गर्वुजाको उपचार गराउन आह्वान गरेका हुन् । पीडित गर्वुजाकी श्रीमती हेमशरा गर्वुजाले आफ्नो श्रीमान्को मिर्गौला प्रत्यारोपणका लागि करिब आठ लाखभन्दा बढी खर्च लाग्ने बताउँदै उक्त रकम जुटाउन सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे । ‘‘दुई वर्षअगाडि एउटा मिर्गौैलाले काम गर्न छाडेपछि त्यसलाई निष्क्रिय पारेका थियौँ, अहिले पुनः अर्को मिर्गौलाले पनि काम गर्न छाडेपछि समस्यामा परेका छौं’’–गर्वुजाले भने । एउटा मिर्गौैलाले काम नगरेपछि त्यसलाई शल्यक्रियामार्फत झिकेर घरपरिवारको खर्च जुटाउन गर्वुजा रोजगारीको सिलसिलामा गत कात्तिकमा कतारमा पुगेका थिए । कतार पुगेको तीन महिनामै अर्को मिर्गौलाले समेत काम गर्न छाडेपछि गर्वुजा रित्तोहात घर फर्किन बाध्य भएका थिए । घरपरिवारमा अन्य कुनै पनि सदस्यको रोजगारी र व्यापार–व्यवसाय नभएको र आर्थिक अवस्था कमजोर रहेकाले पीडित गर्वुजाको उपचारमा सहयोग गर्न मराङ गाविस कार्यालयले समेत सिफारिसमार्फत आह्वान गरेको छ । पीडित गर्वुजाको तीन छोरा र वृद्व आमाबुबा रहेका छन् ।
Previous Articleकोलेस्टोर नियन्त्रण गर्ने यस्ता उपाय
Next Article दुव्र्यसनविरुद्व आमाहरु सक्रिय