बुटवल, १८ फाल्गुन – विभागीय टोली एपीएफ क्लबका गोलरक्षक राजु नगरकोटीको कमजोरीको फाइदा उठाउँदै सीएमजी संकटा क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले एपीएफ क्लबलाई २-१ गोलले हरायो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको खेलमा थप गरिएको समय सकिन पाँच मिनेट बाँकी रहँदा संकटाका विदेशी खेलाडी कोन मौसाले निर्णायक गोल गरेका थिए ।
सेमिफाइनलमा संकटाले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटाका मौसाले एक सय पाँचौं मिनेटमा एपीएफका गोलरक्षकको हातबाट फुत्किएको बललाई पोस्टको दिशा दिएका थिए । खेलको पहिलो हाफको अधिकांश समय बललाई नियन्त्रणमा लिएको एपीएफका आधा दर्जन प्रहार खेर फालेको थियो । नवीन लामा, रवि थिङको प्रहारलाई संकटाका गोल रक्षक विनय श्रेष्ठले असफल बनाए । दोस्रो हाफपछि लयमा फर्किएको संकटाले ४८औं मिनेटमा १-० को अग्रता बनाएको थियो ।
संकटाका लागि मार्टिनले गोल गरे । उनले सलिन थापाको पासमा गोल गरेका थिए । एपीएफका रवि थिङले ६९औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । दोस्रो हाफपछि मैदान छिरेका सन्तोष श्रेष्ठको क्रसमा रविले गोल गरेका हुन् । ७५औं मिनेटमा संकटाका मार्टिनले गरेको प्रहार पनि पोस्ट माथिबाट बाहिरिएको थियो । संकटाका कोन मौसा म्यान अफ दी म्याच बने ।
प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र उपविजेताले तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउनेछ ।
Previous Articleमिर्गौला प्रत्यारोपण पूर्ण निःशुल्क
Next Article सहकारी लेखा तालिम सकियो