काठमाडौं, १७ फागुन – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। मंगलबार तीन बजे तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा)को कार्यलयमा बसेको मोर्चाको बैठकले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय लिएको हो।
सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले बैठकले तीनवटा निर्णय लिएको बताए। ‘पहिलो निर्णय यो छ कि संविधान संशोधन नभएसम्म हामी निर्वाचनमा भाग लिंदैनौं। दोस्रो, अरु राजनीतिक दलहरुको निर्णय हेर्दै छलफल गरेर अगाडि बढ्छौं। र, तेस्रो निर्वाचन आयोगले दर्ता गर्न दिएको समय सीमा फागुन १८ भित्र हामी दल दर्ता पनि गर्दैनौ’, उनले भने।
मोर्चाको यस्तो निर्णय सार्वजनिक हुनसाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेलुकी पाँच बजे राष्ट्रका नाममा संबोधन गर्दै छन्। सरकारले भने संविधान संशोधनको प्रक्रिया र निर्वाचनको मिति एकै साथ घोषणा गरेको थियो। संसदमा संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेको छ। संविधान संशोधनमाथि सत्ता पक्ष दलका केही नेता र मधेसवादी दलहरुले परिमार्जनका लागि संशोधन हालेका छन्।
निर्वाचन आयोगले दर्ता गर्न दिएको म्यादको अघिल्लो दिन अप्रत्याशित रुपमा मोर्चाले निर्वाचनमा भाग नलिने निर्णय गरेर सरकारलाई दबाब दिएको ठानिएको छ।
Previous Articleचुनाव घोषणाले गौरवबोध भएको छ-प्रधानमन्त्री
Next Article प्रहरी प्रमुख (आइजी) मुद्दाको अन्तिम टुंगो भोलि