बागलुङ, १७ फागुन/सहकारी क्षेत्रको नीतिगत तथा वित्तीय व्यवस्थापनका लागि लेखा समितिको भूमिकालाई प्रभावकारी बनाउने उदेश्यका साथ बागलुङमा लेखा समितिका संयोजक तथा सदस्यहरुका लागि दुइ दिने क्षमता अभिवृद्धि तालिम सोमबारदेखि शुरु भएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा सञ्चालित लेखा समितिका संयोजक तथा सदस्यहरुको क्षमता अभिवृद्धि तालिममा विभिन्न २० वटा सहकारीका ३० जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै नेपाल सुचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसीले सहकारी सञ्चालन गर्दा इमान्दारीता र पारदर्शिता अति आवश्यक रहेको बताइन् । केसीले व्यक्तिगत जिवनलाई मात्र नभई सामाजिक एवं शैक्षिक स्तरको बृद्धिका लागी पनि तालिम महत्वपुर्ण रहेकाले व्यवहार र सिपमा परिवर्तन गर्नुपर्ने धारणा राखिन । कार्यक्रम राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रको समग्र विकासका लागि लेखा समितिको भूमिकालाई प्रभावकारी बनाउन तालिम सहयोगी हुने धारणा राखेका थिए । कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सञ्चालक हुमाकुमारी जिसी ‘अञ्जु’को स्वागत र कोषाध्यक्ष भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) पूर्व कार्यकारी प्रमुख कुबेर निरौलाले सहजीकरण गरेका थिए तालिमको उदेश्यका बारेमा जिल्ला सहकारी संघका लेखा संयोजक तोयानाथ गौतमले जानकारी गराए ।