ललितपुर, ७ फागुन – राजनीतिक पार्टीका विभिन्न तहका कार्यसमितिमा सामुदायिक विद्यालयका २.६७ प्रतिशत शिक्षक प्रत्यक्ष संलग्न रहेको पाइएको छ । तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्र पार्टीमा संलग्न शिक्षकहरूको अध्ययन गर्ने क्रममा यस्तो तथ्य देखिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अध्ययन प्रतिवेदनअनुसार सबभन्दा बढी एमालेमा आबद्ध शिक्षक १.४० प्रतिशत, कांग्रेसमा ०.४४ र माओवादी केन्द्रमा ०.८३ प्रतिशत छन् ।
संशोधित शिक्षा ऐन २०२८ को दफा १६ ङ उपदफा ५ (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य रहेको पाइए शिक्षक पदबाट हटाइने व्यवस्था छ । ऐन संशोधन भएको वर्ष दिन बितिसक्दा पनि जिल्लाको हकमा न शिक्षकहरूले राजीनामा दिएका छन्, न पार्टीले नै पद त्याग गर्न लगाएका छन् । एक महिनाअघि संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमालेलगायत ९ दलीय गठबन्धनले राजधानीमा गरेको शक्ति प्रदर्शनमा विद्यालयका शिक्षकहरू ब्यानर र झन्डासहित उपस्थित थिए ।
शिक्षा ऐनले प्रतिबन्ध लगाए पनि एमाले १ नम्बर क्षेत्रीय कमिटीका अध्यक्ष प्रभाकर थापा, सचिवालय सदस्य राजकुमार तिमल्सिना, रोमप्रसाद घिमिरे, जिल्ला समिति सदस्यहरू रमेशप्रसाद बजगाईं, नारायणप्रसाद तिमल्सिना विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन् । क्षेत्रीय कमिटी अध्यक्ष थापा झरुवारासीस्थित नवज्योति आधारभूत विद्यालय, कमिटीका सचिवालय सदस्य तिमल्सिना घुसेल मावि, घिमिरे इकुडोल विज्ञान प्रभा निमावि, जिल्ला समितिका सदस्यहरू बजगाईं कालेश्वर प्रावि, तिमल्सिना बालमनोरमा निमावि आश्राङमा आबद्ध छन् । गुप्तेश्वर माविका प्रिन्सिपल शेरबहादुर तामाङ, नागदेवी प्रावि माल्टाका प्रिन्सिपल ठाकुरमान लामा र देवी उच्च माविका प्रिन्सिपल लक्ष्मण बजगाईं पनि जिल्ला समिति सदस्य छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि गीता बजगाईं, चन्दनपुर गाउँ इकाई उपसभापति दिलीपकुमार घिमिरे, क्षेत्रीय जिल्ला अधिवेशन प्रतिनिधि उपेन्द्रकुमार घिमिरेलगायत पनि शिक्षण पेसामा आबद्ध छन् । महाधिवेशन प्रतिनिधि बजगाईं इमाडोलस्थित गम्भीर समुद्र सेतु मावि, चन्दनपुर गाउँ इकाई उपसभापति घिमिरे कालेश्वरी निमावि, क्षेत्रीय जिल्ला अधिवेशन प्रतिनिधि घिमिरे झरुवारासीस्थित नवज्योति आधारभूत विद्यालयमा आबद्ध छन् ।
माओवादी केन्द्रमा आबद्ध शिक्षकहरू पार्टी विभाजनपछि विभाजित भएका थिए । रामबहादुर थापा र पुष्पकमल दाहाल नेतृत्वको माओवादी एकतापछि पार्टी संगठन निर्माण प्रक्रियामा भएकाले पद नखुलेका तर पार्टी आबद्ध अगुवा नेताहरू शिक्षण पेसामा आबद्ध हुने थुप्रै छन् । फुल्चोकी उच्चमाविका प्रिन्सिपल विजय बानियाँ, सरस्वती उच्च मावि ठेचोका शिक्षक कृष्णकाजी महर्जन, पाटन माविका शिक्षक रामकाजी विष्ट, घुसेल माविका प्रिन्सिपल रवीन्द्र सिंह, आदर्शशैल उच्चमावि बुङमतीका प्रिन्सिपल सरोजभक्त आचार्य, पद्मप्रकाश माविका शिक्षक ज्वालाप्रसाद रेग्मी हाल पार्टीमा आबद्ध भएको नदेखिए पनि यसअघि आबद्ध थिए ।
तीनै पार्टीका गाउँ कमिटीमा आबद्ध हुने शिक्षक थुप्रै छन् । शिक्षकहरू पार्टीमा आबद्ध हुँदा विद्यालयमा राजनीति भएको, विपरीत विचारधारा भएका शिक्षकहरूबीच अनावश्यक बहस हुने गरेको, पढाइ ठप्प पारेर दलको बैठक, जुलुस, सभा, चियापानलगायत कार्यक्रममा संलग्न भएको सरकारको निष्कर्ष छ । तर नियम पालना नगर्ने शिक्षकहरूलाई जिल्ला शिक्षा कार्यालयले कारबाहीको दायरामा ल्याउन सकेको छैन । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले ऐनबारेमा जिल्लाका सम्पूर्ण विद्यालयका प्रिन्सिपलहरूलाई भेला गराएर जानकारी गराइसकेको बताए । ‘कुन पार्टीमा कति शिक्षक संलग्न छन् भन्ने डाटा संकलन गरिरहेका छौं,’ उनले भने, ‘यसबारेमा जिल्ला शिक्षा समितिमा छलफलका लागि तयारी गरिरहेका छौं ।’
शिक्षकहरू पार्टीमा आबद्ध हुनु नै सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्नुको मुख्य कारण भएको अभिभावकहरूको भनाइ छ । जनजागृति उच्चमावि इकुडोलका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल सञ्जेलले जिल्ला शिक्षा कार्यालयले अनुगमनलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाई नतिजामुखी बनाउनुपर्ने बताए । ‘विद्यार्थीलाई टिकाइराख्न नसक्ने, गुणस्तरको दृष्टिले सामुदायिक तथा संस्थागत विद्यालयबीचको अन्तर कम गर्न नसक्नुको कारण शिक्षकले राजनीति गर्नु हो,’ उनले भने, ‘ऐन लागू भए शिक्षाको गुणस्तरमा वृद्धि हुने विश्वास हुन्छ ।’
एमाले जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र माओवादी केन्द्रका अध्यक्ष हरि दाहालले यस विषयमा छलफल भइरहेको बताए । कांग्रेसका जिल्ला सदस्य रविन्स शर्माले शिक्षक क्रियाशील पदमा रहेर राजनीति गर्न नपाइने तर साधारण सदस्य बन्न पाइने पार्टीको धारणा रहेको बताए ।
जिल्ला शिक्षक युनियनका अध्यक्ष विष्णुनारायण श्रेष्ठले ऐन ल्याए पनि नियमावली आउन बाँकी रहेकाले शिक्षक राजनीतिमा आबद्ध रहेको बताए । ‘नियमावलीमा विद्यालयबाहेक अन्य समयमा संलग्न हुन पाइने व्यवस्था गरे शिक्षकहरू पार्टीमा आबद्ध हुन पाइयो,’ उनले भने, ‘नत्र राज्यले ल्याएको नियम सबै शिक्षकले मान्नुपर्छ ।’
ललितपुरमा ३ प्रतिशत शिक्षक राजनीतिमा सक्रिय
Previous Articleमझगवामा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप
Next Article कामदार युवतीबाटै भयो मालिकको फिल्मी शैलीमा अपहरण