त्रिभुवन विश्व विद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तोकेपछि अहिले क्याम्पसमा विद्यार्थीहरुको चहलपहल बढ्न थालेको छ । २०६५ सालमा भएको स्ववियु निर्वाचन त्यसयता बिभिन्न विवाद र असहमतिका कारण हुन सकेको छैन । त्रिवि नियमअनुसार प्रत्येक २ वर्षमा निर्वाचन हुनुपर्छ । क्याम्पसले स्ववियू निर्वाचनको तालिका सार्वजनिक गरिसके पछि धमाधम विद्यार्थी भर्ना गर्ने कामले तीव्रता पाएको छ । क्याम्पसमा चुनाव हुने भएपछि अहिले विद्यार्थी संगठनबीच विद्यार्थी तानातानको स्थिति छभने विद्यार्थीलाई भर्ना गर्ने काम पनि चलेको छ । त्रिविले यसपालादेखि लागु हुने गरी स्ववियू निर्वाचनमा २८ वर्षभन्दा बढी उमेर पुगेको विद्यार्थीले उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले २८ वर्ष कटेकाहरु विस्तार विस्थापित हुने भएका छन् । अहिले क्याम्पस परिसरमा धमाधम भित्तेलेखन शुरु भएको छ । आफ्नो संगठनलाई जिताउनको लागि विद्यार्थी संगठनहरुले भेला, बैठक र लभिङ समेत शुरु गरेका छन् । स्ववियू चुनावलाई आफ्नो पार्नको लागि नेकपा एमाले समर्थित अनेरास्ववियू, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले सोमबार पत्रकार सम्मेलन गरी संयुक्त उमेदवारी दिने जानकारी गराएका छन् ।
८ वर्षपछि स्ववियूको चुनाव हुन लागेपछि विद्यार्थी संठनहरु पनि हौसिएका छन् । चुनावलाई आफ्नो संगठनमा पार्नको लागि अहिले बढी मात्रमा सामाजिक संजाल फेसबुकको भरपुर प्रयोग गरिएको छ । स्ववियूको चुनाव नजिकिदै गर्दा विद्यार्थी संगठनबीच विवाद पनि हुने गरेको छ । विगतको नजिर हेर्ने होभने चुनावमा विद्यार्थी संगठनबीच झडप नहोला भन्न पनि सकिदैन । त्यसैले स्ववियू चुनावलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नको लागि विद्यार्थी संगठनले सद्भाव अपनाउन जरुरी छ । विद्यार्थी संगठनबीच झडप भयो भने यसले नराम्रो सन्देश पनि प्रवाह गर्नेछ । विद्यार्थी वर्ग भने शिक्षित र देश बनाउने अस्त्र पनि हो । त्यसैले चुनावलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्नको लागि आचारसंहितालाई पुर्ण रुपमा पालन गर्न जरुरी छ । चुनावमा हार जित हुने भएकोले सबै विद्यार्थी संगठनले स्वच्छ प्रतिष्पर्धा गर्न जरुरी छ । विद्यार्थीको हकहितमा र क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउन स्ववियूको भूमिका महत्वपुर्ण हुन्छ । पुस २५ गते पद्यकन्या क्याम्पसको पर्खालमा भित्तेलेखन गर्ने विषयमा नेविसंघ र अखिल क्रान्तिकारी बीच झडप भएको थियो । विद्यार्थी संगठनबीच झडप हुन थालेपछि क्याम्पस परिसरमा सुरक्षाकर्मी परिचालन गर्न थालिएको छ । स्ववियू जित्नुलाई विद्यार्थी संठगनले साखको विषयमा बनाउँदा झडपका घटना हुने गरेका छन् । ८ वर्षपछि हुन लागेको स्ववियू चुनावलाई निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नको लागि सबै विद्यार्थी संगठन सालिन भएर लाग्नुपर्छ ।