प्रमुख विपक्षी दल नेकपा एमालेले लगायत अन्य दलले चर्काे विरोध गरिरहँदा संविधान संशोधन प्रस्ताव टेबल गर्नका लागि एकजुट भएका सत्ता पक्षका सांसदहरु सोमबार संसदमा अनुपस्थित हुँदा स्थानिय तहको निर्वाचन सम्बन्धि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुन सकेन । सांसदहरु हाजिर गर्दै टाप कसेपछि संसदमा गणपूरक संख्या समेत नपुगेर सभामुख ओनसरी घर्तीले सोमबारको बैठक आघा घण्टा स्थगित गर्नुप¥यो । नेपाल मजदूर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले गणपूरक संख्यामाथि प्रश्न उठाएपछि सचिवालयले टाउको गनेको थियो । सो क्रममा एक सय १६ सांसदमात्र संसदमा उपस्थित थिए । यद्यपी सोमबार जम्मा ४०४ सांसदले हाजिरी गरेका छन् । सांसदहरू हाजिर गर्दै टाप कसेपछि संसदमा सेता कुर्सीहरू मात्रै थिए । सांसदहरुले भत्ता पचाउने तर संसदको बैठकमा उपस्थित नहुँदा महत्वपुर्ण विधेयकमाथि छलफल समेत हुन सकेको छैन ।
कोरम नपुगेर संसदको बैठक स्थगित भएको यो पहिलो पटक भने होइन । विगतमा पनि गणपुरक संख्या नपुग्दा संसदको बैठक स्थगित हुने गरेको थियो । कुनैपनि प्रस्ताव पारित गर्न संसदको कुल संख्याको एक चौथाई अर्थात् १ सय ४९ सांसदको आवश्यकता पर्दछ । बैठकमा गणपूरक संख्या नपुग्दा कार्यसूचीको काम पर सर्दै जान्छन् । सांसदहरु संसदमा उपस्थित भई हाजिर मात्र गरेर हिँँडेपछि गणपुरक संख्या नपुगेर बैठक थुप्रैपटक स्थगित भएका छन् । बैठक स्थगित भएपनि सांसदहरूले हाजिर गरेपछि बैठक भत्ता र ट्याक्सीभाडा पाउने व्यवस्था छ । जनताको प्रतिनिधि चुनिएर संसद पुगेका राजनीतिक दलका नेताहरुले देश र जनताका महत्वपूर्ण एजेण्डामा बेवास्ता गर्दा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुन्छ । जनताको करबाट तलब भत्ता खाने सांसदहरुले देश र जनताको विषयमा गंभीर बन्न जरुरी छ । देश र जनताको हितमा काम नगरी गैरसरकारी संघ संस्थाका कार्यक्रममा गएर भत्ता पचाउने कार्य तत्काल रोक्नु पर्छ । देश र जनताको हितमा काम नगर्ने सांसदले तलब र भत्ता खाने नैतिकताले पनि दिदैन ।
महिना दिन संसद् अवरुद्ध गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेलगायतका विपक्षी नौ दललाई गैरजिम्मेवार दल भन्ने सत्ता पक्षधर दलले सदन सुचारु गराउन कुनै पहल नगरेको सोमबारको संसद् बैठकमा स्पष्ट देखिएको थियो । सदनलाई बिजनेस दिने र त्यसलाई पारित गराउने प्रमुख दायित्व सरकार र सत्तारूढ दलकै हो । प्रतिपक्षी दलले रचनात्मक सहयोग गर्ने हो । तर, सोमबार सत्तारूढ दलका सांसदले आफ्नो जिम्मेवारी भुले । यतिबेला सांसदहरूको सेवासुविधा पनि बढाइएको छ । बेलुकाको संसद् बैठकमा पनि थप भत्ताको व्यवस्था गरिएको छ । संसदमा हाजिर गरेर घाम तापेर गफिने, क्यान्टिनमा खाजा खाँदै रमाउने र निजी काममा व्यस्त हुने प्रवृत्तिलाई सांसदले तत्काल त्याग्नुपर्छ । यदि सांसदहरुले देश र जनताका विषयमा छलफल हुने महत्वपूर्ण स्थान संसदमा अनिवार्य रुपमा सहभागी हुनुपर्छ । भत्ता खान अनि बैठकमा अनुपस्थित हुने कार्य अशोभनिय छ ।