त्रिभुवन विश्वविद्यालयका आंगिक र मान्यता प्राप्त क्याम्पसमा हरेक बर्ष स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत विद्यार्थी हक हितको काम गर्ने नियमाबली सहितको व्यवस्था दशक बितिसक्दा पनि अलपत्र छ । एक बर्षमा हुने निर्वाचनलाइ व्यवहारिक रुपमा दुइबर्षमा गर्दै आएको निर्वाचनलाइ पनि नियमित गर्न नसकेको विश्वविद्यालयले पछिल्लो समय दशक वित्दा पनि गराउन सकेको छैन । दुइ बर्ष अघि देखि यो निर्वाचन बारे ठूलै बहस भएपनि राजनीतिक मोलमोलाईले अझै निर्वाचन हुन नसकेको हो । एकपटक फेरी सरकारले फागुनमा स्ववियु निर्वाचन गर्ने पासा पालेको छ, तर त्यो पुरा हुने वा नहुने अन्यौल छ । त्रिभूवन विश्वविद्यालयले पटक पटक घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तिम अवस्थामा पुगेर रोकिएका छन् । विद्यार्थीको हकहितको लागि भनिने निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा त्रिविले रोक्दा आफ्नो विद्यार्थी संघसंगठनहरु आक्रोसित हुने गरेका छन् । निर्वाचन अभावमा विद्यार्थी राजनीति देखि क्याम्पसहरुमा हुने ढीलासुस्ती र भ्रष्ट्राचार मौलाएर गएको छ । हरेक क्याम्पस व्यवस्थापन समिति देखि खवरदारी गर्ने अभियानमा स्ववियु प्रतिनिधि बैधानिक सदस्य हुने व्यवस्था छ । त्रिवि परिषदको सदस्य समेत स्ववियु सभापति हुने व्यवस्था छ ।
तर स्ववियु नभएको समयमा त्रिविले गरेका हरेक प्रकारका अलोकतान्त्रिक र मनोमानी निर्णयले हजारौं विद्यार्थीको भविष्य अन्यौलमा धकेलिएको छ । समयमा परिक्षा नहुने, परिक्षाफल एक बर्ष सम्म पनि नआउने लगायतको समस्याले विद्यार्थीले सास्ती खेपेका छन् । जसका कारण सरकारी क्याम्पसमा अहिले विद्यार्थी संख्या घटेर शुन्यता छाएको छ । नीजि क्याम्पसमा खचाखच भरिने विद्यार्थीहरु सरकारीमा शुन्यतामा झर्नुमा विद्यार्थी राजनीतिको अस्वस्थ्य प्रतिष्पर्धा र त्रिविको मनोमानी निर्णयको कारण हो । समयमा परिक्षा दिन नपाएकै कारण स्नातक र स्नातकोत्तर तहमा एउटै बर्षका नयाँ र पुराना गरी दुइ व्याचका विद्यार्थी छन् । उनीहरुको परिक्षा डेढबर्षमा पनि हुन सकेको छैन । परिक्षाफल आउने कुरा त झन अन्यौलमा पर्छ । यो अवस्थामा विद्यार्थी प्रतिनिधिले कम्तिमा दवाव दिने र पारदर्शीताको नारा लगाउन सक्ने थिए । त्यसोत औपचारिकताका लागि विद्यार्थी संघसंगठनलाइ सोधेर निर्णय गर्ने गरेको बताइन्छ । तर त्यो औपाचारिकतामा मात्र सिमित छ । विद्यार्थी प्रतिनिधिलाइ सोध्ने काम कानूनी रुपमा बैध नभइ औपचारिकता पु¥याउने काम मात्र हो ।
पछिल्लो समय विद्यार्थी राजनीति पनि कमाइ खाने भाँडोको रुपमा विकास भएको छ । जसका कारण जित्न नसक्ने संगठनले यो वा त्यो बाहनामा निर्वाचनलाइ धकेल्ने र आफ्नो प्रतिनिधि जवरजस्ती राख्ने गर्छन् भने अन्यले पनि ठूलो संगठनको नाउँमा कमाउ धन्दा गर्नका लागि पनि निर्वाचन नचाहने प्रवृत्ति बढेर गएको छ । विद्यार्थीहरुको तल्लो तहमा पनि भ्रष्ट्राचारको जरो तानिएको विभिन्न क्याम्पसमा भएका केही घटनाहरुले पुष्टी गरेका छन् । भर्ना गराउने निहुँमा धेरै विद्यार्थीको पैसा खाएकोले परिक्षाबाट वञ्चित भएका घटना पनि बाहिर आएका छन् । अव भने त्रिविले निर्वाचन गराएर विद्यार्थी प्रतिनिधि आउने वातावरण बनाउन जरुरी छ ।