नेपाली कांग्रेसले शनिवार राष्ट्रिय एकता र मेलमिलाप दिवस विविध कार्यक्रम गरी देशब्यापी मनायो । बीपी कोइराला आजभन्दा ४० वर्षअघि पुस १६ गते आफ्नो सम्मुख उपस्थित सबै खाले राजनीतिक एवं व्यक्तिगत जोखिमलाई पर्वाह नगरी देशको अस्तित्व संकटमा परेको महसुस गरी राष्ट्रिय एकता र मेलमिलापको प्रस्ताव राख्दै राजनीतिक सहयात्री गणेशमान सिंहसाथ दर्जनौं कार्यकर्तासहित भारत स्वनिर्वासनलाई परित्याग गर्दै स्वदेश फर्केका थिए । सोही दिनलाई नै काँग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसको रूपमा मनाउने गरेको छ । बीपीले राखेको राष्ट्रिय एकता र मेलमिलापको प्रस्तावलाई नत तत्कालीन राजाले स्वीकार गरे, न नेपाली कांग्रेसले इमानदारीपूर्वक आत्मसात गरयो । अहिले नेपाली कांग्रेस राष्ट्रिय संकटको यो घडीमा देशलाई बचाउन नेतृत्वदायी भूमिका खेल्न नसक्ने भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएर पनि राष्ट्रिय राजनीतिको केन्द्रबाट टाढा भइरहेको छ, राजनीति र प्रजातन्त्रलाई स्थायित्व दिन चुकिरहेको छ । बीपीले आफ्नो जीवनमा आफ्नै साथीहरूले आफूलाई साथ नदिएको गुनासो बरोबर गरेका थिए ।
आजको देशको संकटपूर्ण राजनीतिक परिस्थिति र दिशाहीन कांग्रेसको निरीह अवस्थामा बीपीलाई श्रद्धापूर्वक स्मरण गर्दै राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा भन्नैपर्छ, पछिल्लो कालखण्डमा कांग्रेसका नेताहरूको सत्तामोह र सिद्धान्तहीन निकटताले पार्टीको सैद्धान्तिक एवं वैचारिक मौलिकता धुमिल भएको छ । लामो प्रजातान्त्रिक आन्दोलनबाट स्थापित एवं आर्जित कांग्रेसको आफ्नै खालको गौरवशाली चरित्र कांग्रेसपनको साख समाप्त हुँदैछ । विचार र सिद्धान्तले बीपी र वर्तमान कांग्रेसको दूरी बढ्दैछ । बीपीपछि आधुनिक नेपाली राजनीतिमै राष्ट्रियताको संवेदनशीलता र यसको चुरोलाई राम्रोसँग बुझेका प्रजातन्त्रवादी नेता कृष्णप्रसाद भट्टराई हुन् भन्दा कसैले विमति राख्नु पर्दैन । भट्टराईले आफ्नो जीवन छँदै आफै समेतले स्थापना गरेको र राजनीतिक जीवन बिताएको पार्टीबाट पीडा र अपमान सहँदै दुखसाथ अलग हुनुको कारण कांग्रेसको वैचारिक विचलन नै थियो । राष्ट्रिय एकता र मेलमिलाप नीतिको भावना विपरीत महासमिति बैठकले नाटकीय ढंगले निर्णय गरेपछि बैठकको समुद्घाटन सत्रमा उपस्थित किसुनजीले सोही महासमिति बैठकलाई एउटा पत्र पठाएर पार्टीबाट अलग भएको घोषणा गर्नु राजनीतिक इतिहासकै एउटा दुखद घटना थियो ।
बीपीको अनुयायी र उत्तराधिकारीहरूले आफूखुसी गरेका कारण मुलुकप्रति विगतमा कांग्रेस र यसका नेताहरूबाट भएको भुल र खेलवाडको मूल्यांकन इतिहासको कालखण्डमा हुने नै छ । तर वर्तमानको खाँचो भनेको कांग्रेसले इतिहासमा गरेको भुललाई सच्याएर मुलुक र आमजनताले पुन विश्वास र भरोसा गर्नसक्ने पार्टी बनाउने, जुन पार्टीको नेतृत्वमा मुलुक सुरक्षित रहनसक्छ र लोकतन्त्र जनताको संस्कार र पद्धति भएर रहन सक्छ । यसलाई पक्रनका लागि कांग्रेसको झण्डामा बीपीका विचार फर्फराउनुपर्छ, भट्टराईको निष्ठा एवं समर्पण र गणेशमानको त्याग र हठीपन हुनैपर्छ । आज बीपीको विचार र दर्शन, गणेशमानको निष्ठा र किसुनजीको लिगेसीको डोरीलाई समातेर कांग्रेसको नेतृत्व सम्हाल्न पुगेको वर्तमान नेतृत्वले राष्ट्रिय एकता र मेलमिलाप नीति, बीपी र किसुनजीको विचार एवं भावना तथा गणेशमानको निष्ठाभाव बमोजिम पार्टीलाई सही मार्गबाट हिँडाउने प्रयास गर्नुमा नै मेलमिलाप दिवसको सार्थकता हुनेछ, काँग्रेसजनलाई चेतना भया ।
Previous Articleनिशुल्क शिविर
Next Article त्राही त्राहीमा घर निर्माणः कसको सरकार छ बागलुङमा ?