काठमाडौं, १० पुस – सत्तारुढ दल नेपाली कांग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ।आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए।
उनले स्थानीय निकायको निर्वाचनका विषयमा छलफल भएको र पुरानै संरचना अनुसार नै स्थानीय निकायको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष निकालेको पनि बताए। स्थानीयका निकायको निर्वाचन नयाँ वा पुरानो कुन संरचनामा गर्ने भन्ने विषयमा बहस भइरहेका बेला कांग्रेसले पुरानै संरचना अनुसार स्थानीय निकायको निर्वाचन गर्नु पर्ने सुझाव दिएको हो।
कांग्रेसले संविधान संशोधनलाई थाती राखेर भएपनि तत्काल स्थानीय निर्वाचन गराउनुपर्ने सरकारसँग माग गरेको छ। संविधान संशोधन प्रस्ताव थाती राखेर स्थानीय निर्वाचनको मिति घोषणा गर्दा प्रतिपक्षी दल एमालेसहितका दलहरुमाथि संसदको अबरोध हटाउन दबाब सिर्जना हुने कांग्रेसको निष्कर्ष छ।
बैठकले स्थानीय निकायको निर्वाचनको मिति घोषणाबारे एमाले, नेकपा माओवादी केन्द्रलगायत दलसँग छलफल गर्ने निर्णय पनि गरेको छ। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचनको मिति घोषणाका लागि राष्ट्रिय सहमति खोज्न छलफल गरिने बताए। संविधान संशोधन प्रस्तावमाथि संसदमा छलफल गरिनु पर्ने उनले बताए। बैठक सोमबार पनि बस्नेछ।
स्थानीय निर्वाचन तत्काल घोषणा गर्न कांग्रेसको माग
Previous Articleप्रधानमन्त्री रिबन काट्दै हिडेका छन – ओली
Next Article दाँतको समस्या छ, यी कुरा थाहा पाइराख्नुस्