जमाना अब यस्तोसम्म आयो कि कोदो, फापरको ढिडो खानाको लागि शहरका भान्सा घरमा धाउनु पर्देछ । गाउँघरमा प्रशस्त पाइने अर्गानिक खाद्यन्न अहिले हराउँदै गएका छन् । गाउँ घरका खेतबारी बाँझै राखेर मधेस र भारतबाट आयातित खाद्यन्न हामी परनिर्भर हुँदै गएका छौ । गाउँमा ढिडो र आटो खानेको संख्या घट्दै जाँदा सुविधा सम्पन्न शहरमा स्वाद फेर्नका लागि ढिडो खोज्दै हिड्नु पर्ने अवस्था सिर्जना भएको छ । बजारमा आएका जंकफुडका कारण बालबालिकाले कोदो, गहुँको रोटी र भुटेका मकैको स्वाद बालबालिकाले भुलिसकेका छन् । भान्सा बनाउन नपर्ने झन्झटकै कारण अभिभावकहरु बालबालिकाहरुलाई स्कुल खाजाको खाजा चाउचाउ र बिष्कुटलाई अनिवार्य जस्तै बनाएका छन् । जंकफुडको प्रयोगलाई रोक्नको लागि समय समयमा सचेतनामुलक कार्यक्रम गरेपनि रोकिने कुनै छाँट देखिएको छैन । आर्कषित प्याकमा आउने जंकफुडप्रति बालबालिका छिट्टै आर्कषित हुने भएपनि ति खाद्य वस्तुको गुणस्तरबारे न अभिभावकले चासो देखाएका छन् न त सरकारी निकायको आँखा नै परेको छ । जंकफुडको बढ्दो प्रयोगले बालबालिका मात्रै होइन वयस्क र वृद्ववृद्वाको स्वास्थ्यमा समेत गंभीर खेलवाड भईरहेको छ ।
बढ्दो जंकफुडको प्रयोगले शहरी क्षेत्रका किशोर–किशोरीमा कुपोषणको समस्या धेरै रहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले किशोर–किशोरीको पोषण स्थितिबारे हालै सार्वजनिक गरेको अध्ययनले शहरमा बसोबास गर्ने ६३ प्रतिशतमा कुपोषणको समस्या बढी भएको देखाएको छ, जुन गाउँघरको तुलनामा न्यून छ । जे मन लाग्यो त्यही खाने, पौष्टिक तत्व नभएको खाना खाने, जंक फुड तथा प्याकिङ गरिएका खानेकुराको अधिक प्रयोगले किशोर–किशोरीमा कुपोषणको समस्या देखिएको अध्ययनले जनाएको छ । अध्ययनका अनुसार, ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरीमा कुपोषण पाइएको छ । असन्तुलित खाना तथा पेट भर्नको लागि मात्र खाने परिपाटीले कुपोषण बढेको अध्ययनले जनाएको छ । कुपोषण विशेषगरी जंक फुडको प्रयोगका कारण बढ्दो क्रममा छ ।
गाउँमा अज्ञानता, पौष्टिक आहारको कमी र जुकाको संक्रमणले कुपोषण हुन्छ, शहरी क्षेत्रमा जंक फुड खानेकुराको अधिक प्रयोग र पोषणयुक्त खानाको कमीले कुपोषण गएको छ । अर्काेतर्फ शहरमा डाईटिङ गरी शरीरलाई स्लिम बनाउने प्रचलनका कारण पनि कुपोषणका रोगी बढ्दै गएका छन् । कुपोषणबाट बच्न अभिभावक तथा विद्यालयहरुले समयमै ध्यान पु¥याउने होभने यसको संख्या कम गराउन सकिन्छ । विद्यालयहरुले विद्यालय क्षेत्रमा जंकफुडको प्रयोगलाई प्रतिबन्ध लगाएपनि त्यसको पूर्ण रुपमा कार्यान्वयन नहुँदा बालबालिकाहरु कुपोषणका रोगी बन्दै गएका छन् । हाम्रै घरआँगनमा शक्तिवर्धक खाद्यन्न उत्पादन गर्न सकिने भएपनि त्यता कसैको ध्यान गएको छैन । हाम्रै खेतबारीमा उपब्जनी हुने खानेकुरा, सागपात, फलफूल लगायतमा बढी जोड दिनुपर्छ । जंकफुड खाने प्रचलन अहिले फेसन जस्तै बनेको छ । स्वास्थ्यका लागि लाभदायि हुने खानपानबाट मात्रै निरोगी बन्न सकिन्छ । त्यसैले खाना बनाउन हुने झन्झटलाई बेवास्ता गर्दै आफ्नै उत्पादनको प्रयोगमा जोड दिनुपर्छ ।