काठमाडौँ, १ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहकै निर्वाचन गराउने गरी मध्यमार्गी प्रस्तावको तयारी गरेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू स्थानीय चुनाव गर्नेमा सहमति भए पनि नयाँ संरचनाको स्थानीय तह वा पुरानै स्थानीय निकायको भन्नेमा अलमलिएका वेला प्रधानमन्त्रीले नयाँ प्रस्तावको तयारी गरेका छन ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन गराउन सम्भव नभए संक्रमणकालीन व्यवस्थाअनुसार हाल रहेका गाविस, नगरपालिकालाई नै स्थानीय तहको मान्यता दिएर निर्वाचनमा जानुपर्ने पक्षमा प्रधानमन्त्री छन् ।
यसका लागि उनले कांग्रेस, एमालेलगायतका राजनीतिक दलहरूसँग संवादसमेत सुरु गरिसकेका छन् । ‘अनौपचारिक रूपमा कांग्रेस, एमालेका नेताहरूसँगको संवादमा प्रधानमन्त्रीले यस्तो प्रस्तावमा छलफलसमेत गरिसक्नुभएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘अझै यसलाई मूर्त छलफलको तयारीमा प्रधानमन्त्री हुनुहुन्छ ।’
प्रधानमन्त्रीको यस्तो प्रस्तावमा दलहरूबीच सहमति जुटे पुनः संविधान संशोधन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री दलहरूको सहमतिका आधारमा यस विषयमा संविधान संशोधन गर्ने र दुई वर्षभित्र नयाँ स्थानीय तहको संरचना बनाई पुनः निर्वाचन गराउने गरी संक्रमणकालीन व्यवस्थामा जाने पक्षमा छन् ।
आगामी वैशाखसम्म जसरी पनि स्थानीय चुनाव गराउने गरी मिति घोषणाको तयारी सरकारको छ । ‘संक्रमणकालीन व्यवस्थाअनुसार संविधान संशोधन गर्दा नै दुई वर्षभित्र स्थानीय तहको संरचना निर्माण गरेर पुनः निर्वाचन गराउने व्यवस्थासहित जान सकिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । नयाँ पत्रिका
Previous Articleडिभी परेका एसपी खरेलले बल्ल दिए राजीनामा
Next Article यसरी विकसित हुदैँछन् दस शहर