काठमाडौं, २८ मंसिर – संविधान संशोधन विधेयकको विपक्षमा मत राख्ने एमालेसहित आठ दलको संयुक्त बैठकले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म संसद् नखोल्ने र आन्दोलन अझ सशक्त बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा मंगलबार बसेको आठ दलको बैठकका बारेमा जानकारी दिँदै एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले संविधान संशोधनको विधेयक फिर्ता नलिएसम्म विरोधका कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउने निर्णय भएको बताए । उनले सरकारले विधेयक फिर्ता लिएको खण्डमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको बारेमा छलफल भएको जानकारी दिए ।
संविधान संशोधनको विधेयकमाथि विपक्षी दल मात्र नभएर सत्ता साझेदार दलका नेताहरुमा समेत असहमति देखिएको हुँदा सो विधेयक फिर्ता लिनुपर्ने विषयमा छलफल भएको थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव गलत भएको र सरकारले सो विधेयक फिर्ता लिनुको विकल्प नभएको बताए ।
सो विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी रहने भन्दै उनले थपे- ‘संविधाने संशोधन ५ नं क्षेत्रका जनता र संसद्ले चाहेका छैनन्, सरकारले नदुखेको कपाल डोरी लगाएर दुखाइरहेको छ ।’
बैठकमा एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेपाल परिवार दल, नेपाः पार्टी, राष्ट्रिय जनमुक्ति (लोकतान्त्रिक) पार्टी, मधेसी समता पार्टी गरी आठ दलका नेताहरु सहभागी थिए ।