म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताको उपाधि बेनीअनलाइनका प्रधानसम्पादक हरिकृष्ण गौतमले जितेको छन् । म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका गौतमले खिचेको बेनी नगरपालिका–५,पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रम क्षेत्रको प्रतियोगि नं २०० ले पहिलो पुरस्कार जितेको हो ।
सोमबार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा गण्डकी प्र्रदेशसभाका सदस्य हरि भण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोका, उपाध्यक्ष सुसन श्रेष्ठले गौतमलाई नगद १ लाख, ट्रफी र सम्मानपत्रले सम्मान गरेका थिए ।
प्रतियोगितामा दोस्रो पुरस्कार बेनी नगरपालिका–९,तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबार र तेस्रो रघुगंगा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीले खिचेको भगवती मन्दिरले प्राप्त गरेको थियो ।
त्यस्तै बागलुङका सन्दिप शर्माको म्याग्दीको जलजलाको तस्वीरले नगद ५० हजार सहित म्याग्दी च्याम्बर अवार्ड जितेको छ भने दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार, सम्मानपत्र र विभिन्न विधाका बिजेताले ५ हजारले सम्मान गरिएको थियो ।
प्रतियोगितामा धनीलाल गर्वूजा मगरको लिंगों जुडाउने फोटोले कला संस्कृती अवार्ड, देवी जिसीको मालिकाधुरीले धार्मिक अवार्ड, खड्गबहादुर छन्त्यालकोताकम स्थित हनुमान मुर्तिले मोष्ट कमेन्ट अवार्ड, मधुकर सुवेदीको ताकमकोट मन्दीरले मोष्ट शेयर अवार्ड, घनश्याम खड्काको फुच्चे गुराँसले रिसर्चवेस अवार्ड,धनबहादुर श्रीषको बोयर बोकाले मोष्ट रिच अवार्ड, असिम चिखालको अन्नपूर्ण प्रथम हिमालफेदीको हिमतालले मोष्ट लाईक अवार्डले सम्मान गरिएको थियो ।
फोटो प्रतियोगिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य भण्डारीले म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्ने क्षेत्रहरू प्रसस्तै रहेको बताउँदै पूर्वाधार विस्तारमा प्रदेश सरकारको लगानीले मात्रै प्रयाप्त नहुने बताए ।
‘पर्यटकलाई आर्कषित गर्न पूर्वाधारको आवश्यकता पर्छ, यो प्रतियोगिताले ओझलेमा परेका पर्यटकीयस्थलको उजागर गरेको छ’ सांसद भण्डारीले भने। सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर केसी, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन,अन्नपूर्ण गापाका अध्यक्ष भारतप्रसाद पुन,बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने,बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले पर्यटन क्षेत्रको बिकासमा फोटो प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।
बिजेताको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष गौतमले म्याग्दी जिल्लामा पत्रकारिताको माध्यमबाट पर्यटन प्रर्बधनमा समेत निरन्तर सक्रिय भइरहेको अवस्थामा प्रथम पुरस्कारले थप जिम्मेबारी थपिएको बताए ।
मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोकाले पहिलो र दोस्रो फोटो प्रतियोगिताले म्याग्दी जिल्लाको पर्यटन क्षेत्रका लागि सघाएको बताउँदै आगामी दिनमा पनि जिल्लामा हुने विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको पर्यटन प्रर्बधनमा कोशेढुंगा सावित भएको बताए ।
मोना फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
By Amrit Baskune3 Mins Read