कन्याहरुको अध्ययनलाइ दिगो बनाउनका लागि गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापना गर्नकालागि फागुन १ गतेदेखि काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा हुने सप्ताह ज्ञान महायज्ञको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने भएको छ ।
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने जानकारी दिएको थियो । गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौँले श्रीमद् भागवत महापुराण गर्न लागेको महायज्ञ मुल समारोह समितिका संयोजक डा. गोविन्द टण्डनले जानकारी दिनुभयो ।
समाजसेवी भगवती उपाध्यायद्वारा विसं २०५२ देखि चितवनको देवघाटधाममा सञ्चालन गरेको श्रीरामजानकी वेदविद्याश्रम र प्रतिष्ठित विदुषी स्वर्गीय अङ्गुरबाबा जोशीको इच्छाअनुसार २०६७ सालदेखि काठमाडौँमा गार्गी कन्या गुरुकुल सञ्चालनमा छ । चितवनमा हाल सञ्चालनमा रहेको देशकै पहिलो समावेशी कन्या गुरुकुलमा कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको छ ।
चितवनको भरतपुरन गरपालिका-१ देवघाटमा रहेको यो गुरुकुलमा देशभरका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेको गुरुकुलका प्राचार्य खिमनाथ चालिसेले बताउनुभयाे । गार्गी कन्या गुरुकुलमा शास्त्रीय विषयको अध्यापन, वेद र विज्ञानको संयुक्त अध्यापन, नृत्य, वाद्यवादन र गायनको प्रशिक्षण, शास्त्रार्थ, प्रवचन, काव्य गोष्ठी जस्ता रचनात्मक क्रियाकलापमा सहभागिताको साथै ज्योतिष, कम्प्युटरलगायत विषयमा समेत अध्यापन हुँदै आएको उहाँको भनाइ छ ।
बालविवाह अन्त्य गर्न, छोरीलाई शिक्षित बनाएर चेतना बढाउने उद्देश्यले नेपालमा गुरुकुलको आवश्यकता देखिएपछि गुरुकुल स्थापना गरिएको महायज्ञ आयोजना समितिका सहसंयोजक टेकनाथ पौडेललेको भनाइ छ ।