काठमाडौं, १९ मंसिर – राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन आग्रह गरेकी छन्। राष्ट्रपति भण्डारीले संविधान संशोधनको विषयलाई लिएर दलहरुबीच बढेको दुरीप्रति चिन्ता व्यक्त गरेकी छन् ।
उनले आइतबार शीर्ष नेताहरुलाई शीतलनिवासमा बोलाएर सहमतिका लागि दबाव दिए पनि दलका नेताहरु आ-आफ्नो आडान छाड्ने अवस्थामा देखिएनन् ।पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न राष्टपति भण्डारीले आइतबार साँझ शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख ओनसरी घर्तीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्षनेताहरु सहभागी थिए । राष्ट्रपति भण्डारीले संसदमा भएको अवरोध र सडक आन्दोलनप्रति दुःख व्यक्त गर्दै सहमतिका साथ अघि बढ््न दलका नेताहरुलाई सुझाव दिएको स्रोतले बतायो ।
बैठकमा सहभागी नेकपा मालेका महासचिव सीपी मैनालीका अनुसार राष्ट्रपति भण्डारीले अबको निकास के हुन्छ भनेर नेताहरुलाई सोधेकी थिइन् । बैठकमा सहभागी नेताहरुले पालैपालो आफ्ना धारणा राखेका थिए । उनीहरुले आ-आफ्नो दलीय अडानमा केन्द्रित रहेर धारणा राखेको मैनालीले बैठकपछि पत्रकारहरुलाई जानकारी दिए । बैठकपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्टपतिलाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराइएको र आफू सहमतिका साथ अघि बढ्न तयार प्रतिक्रिया दिए ।
यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि संशोधन जरुरी रहेको बताए । मधेसी मोर्चाका नेताहरुले भने संशोधन प्रस्तावमा आवश्यक संशोधन गर्न सकिन्छ कि भन्ने विकल्पमा पनि छलफल चलाउन सकिने बताएका थिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा केहीबेर मात्रै बसेर बाहिरिएका थिए । राष्ट्रपति भण्डारीले सर्बदलीय बैठक बोलाएका बेला ओली भने शीतलनिवास छाडेर नयाँ बानेश्वरमा सम्पादकहरुसँगको छलफलमा सहभागी बनेका थिए ।
बानेश्वरमा पत्रकारसँग कुरा गर्दै ओलीले सहमतिको वातावरणका लागि संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने बताए । यो प्रस्ताव असंवैधानिक एवं राष्ट्रिय हितको विरुद्धमा भएकाले संसदमा छलफल हुन नदिइएको ओलीले बताए ।
Previous Articleभारतीय डिजाइनमा संविधान संशोधन प्रस्ताव
Next Article २२ औं दिनमा प्रा.डा. गोविन्द केसीको अनशन तोडियो