म्याग्दीको बेनीमा सम्पन्न अन्तरपालिका मोन कप भलिबल प्रतियोगितामा पुरुष तर्फ बेनी नगरपालिका र महिला तर्फ अन्नपुर्ण गाउँपालिकाले उपाधि हात पारेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आयोजनामा बुधबार देखि शुरु भएको भलिबलको उपाधिको छिनोफानो बिहीबार भएको हो ।
बिहीबार बेनीमा भएको फाइनल खेलमा महिला भलिबल तर्फ मालिका गाउँपालिकालाई १–३ को सेटमा पराजित गर्दै अन्नपुर्ण गाउँपालिकाले उपाधि हात पारेको हो । त्यस्तै पुरुष तर्फको उपाधि मंगला गाउँपालिकालाई ०–३ को सोझो सेटमा पराजित गर्दै बेनी नगरपालिकाले हात पारेको छ ।
पुरुषतर्फ मालिका गाउँपालिकाले रघुगंगा गाउँपालिकालाई १ विरुद्ध ३ सेटले पराजित तेस्रो हुन सफल भएको छ । महिलातर्फ धवलागिरी गाउँपालिकालाई पराजित गर्दै रघुगंगा तेस्रो भएको जिल्ला भलिवल संघ म्याग्दीका महासचिव कुमार किसानले जानकारी दिनुभयो । मोनाको आयोजनामा भएको भलिबल प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी जिल्ला भलिबल संघले लिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ लाख ५० हजार, ७५ हजार, ५० हजार र सहभागी सबै टिमले सान्त्वना पुरस्कार २० हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार वितरण शुक्रबार हुने मोनाको मुल समारोहमा प्रदान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महाधिवेशनको अवसरमा रक्तदान
म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं अधिवेशनको पूर्व सन्ध्यामा बेनीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २० पिण्ट रगत संकलन भएको छ ।
सामाजिक सेवामा सक्रिय मोना कता बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बेनी अस्पतालमा भएको रक्तजान कार्यक्रममा २० जना रक्तदाताले रक्तदान गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुखले रगतको अभावले कायौं नागरिकहरु मृत्युको मुखमा पुग्न सक्ने भएकाले आफ्नो शरीरबाट तीन महिनामा खेर जाने रगत दान गरेर अरुको जीवन रक्षा गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा मोनाका अध्यक्ष अम्मर छन्त्याल, संस्थापक अध्यक्ष प्रकाश पुन, बरिष्ठ उपाध्यक्ष ददिवल खड्का लगायतले धारणा राख्नु भएको थियो ।
रक्तदान गर्ने सबैलाई ढाका टोपी प्रदान गरिएको थियो भने कार्यक्रमको सहआयोजकमा मोना कतार, युएइ, क्रोयसीया रहेका थिए ।