२०औं निजामति सेवा दिवसको अवसरमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन (सिबिए) जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा तालिम सञ्चालन गरियो । निजामति सेवाको क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि समयमा आउन सक्ने आपत्कालीन अवस्थामा जीवन बचाउने भन्ने विषयमा तालिम प्रदान गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित तालिममा डाक्टर लक्ष्मी पन्थीले आपत्कालीन अवस्थामा कसरी मानव जीवन बचाउन सकिन्छ भनेर विभिन्न विषयहरुमा सहजीकरण गर्नुभएको थियो । आपत्कालीन अवस्थामा जीवन बचाउन सकिने विभिन्न उपायहरुको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासको साथै व्यहारिक ज्ञान, सिपबारे समेत सहजीकरण गर्नुभएको थियो ।
तालिममा उहाँले ‘यु क्यान सेभ फाइप लाइभ्स’ अभियानअन्तर्गत सर्किनु, हृदयघात हुने, बाह्य रक्तस्राव, सिपिआर तथा बेहोसलगायत विभिन्न विषयमा आधारित रहेर सहजीकरण गर्नुभएको थियो । घाँटीमा केही अड्किएर वा सर्किएका बिरामीलाई तत्काल गरिने विधि, हृदयघात हुँदा तत्काल र अन्तिम अवस्थामा बचाउने, घटनास्थलमा रक्तस्राव रोक्ने प्रक्रिया, बेहोस हुँदा अपनाउनुपर्ने सिपिआर विधि, आपत्कालीन अवस्थामा देख्ने व्यक्तिले तत्काल घट्नास्थलमै बचाउन सक्ने प्रयोगात्मक प्रकृयाको बारेमा समेत सहजिकरण गरिएको थियो ।
हातेमालो अभियान नेपालको संस्थापक अध्यक्ष समेत रहनुभएका डा. पन्थीले तालिममा सिकेका ज्ञान, सिपलाई आ–आफ्नो कार्य क्षेत्रमा मानव जीवन बचाउनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो । सिबिए म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले निजामति कर्मचारीहरुलाई आपत्कालीन अवस्थामा कसरी जीवन बचाउन सकिन्छ भनेर सैद्धान्तिक कक्षासहित प्रयोगात्मक अभ्यासको बारेमा जानकारी गराउन निजामित सेवा दिवसको अवसर पारेर व्यवहारिक तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
तालिममा सहभागी निजामति कर्मचारीहरुले तालिमबाट आगामी दिनमा आपत्कालीन अवस्थामा मानवीय जीवन बचाउन ठूलो सहयोग मिलेको अनुभव सुनाएका छन् । न्यू वेष्ट प्वाइन्ट आवासीय माविका शिक्षक जगदिश पन्थीले तालिममा सहयोग गर्नुभएको थियो । तालिममा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु तथा सुरक्षा निकाय लगायतले सहभागिता जनाएका थिए ।