राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्नो संगठन सुदृढीकरण अभियान अन्तरगतको गाउँ अभियान शुरु गरेको छ ।
राप्रपाको अभियान अन्तरगत बेनी नगरपालिका–१ रत्नेचौरमा राप्रपाको भेला सम्पन्न भएको छ । राप्रपाको भेलाले कर्णबहादुर थापा मगरको अध्यक्षतामा १५ सदस्य वडा कार्य समिति गठन गरेको छ ।
कार्यक्रममा बोल्दै राप्रपाका नेता पूर्व मन्त्री भीमप्रसाद गौचनले राजनैतिक दलहरुले आफ्नो बारेमा मात्रै सोचेकोले समस्या भएको बताउनुभयो । उहाँले चुनाव भन्दा पहिला र चुनावको समयमा दल हेर्ने हो तर जितेर गै सके पछि त्यो सबै जनताको नेता हो त्यसैले सबै जनताको मनको सम्मान हुने गरी काम गर्नु पर्ने बताउनुभयो । देश, राष्ट्रियता र हिन्दु धर्मको रक्षा गर्नु पर्ने बताउँदै उहाँले गाइ सर्ब गुण सम्पन्न जनावर भएकाले गाइको रक्षा गर्नु पर्ने धारणा राख्नुभयो । मानव जन्मेदेखि मृत्यु सम्मको हरेक कार्यमा गाइको दुध, गहुँत तथा गोबरको प्रयोग हुन्छ भने गाइको दुध स्वास्थ्यका लागि पनि निकै उत्कृष्ट हुने भएकाले गाइको संरक्षण गरिनु पर्ने उहाँको भनाई थियो ।
रत्नेचौरमा भएको वडा भेलामा राप्रपाका केन्द्रीय सदस्य रामबहादुर शाही, जिल्ला अध्यक्ष बिरबहादुर थापालगायतले मन्तव्य राख्नु भएको राप्रपाका नगर अध्यक्षले जानकारी दिनुभयो ।