अमृत बास्कुने
सांकतिक भाषा सिकौं बहिराहरुसंगको सञ्चारमा सहयोगी बनौं भन्ने मुल नाराका साथ अपांग संघ म्याग्दी र म्याग्दी बहिरा संघको आयोजनामा सुरु भएको दुई महिने सांकेतिक भाषा तालिम शनिबार सकिएको छ । अन्नपुर्ण गाउँपालिका र बेनी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिमको प्रशिक्षक भानु बिकले सहजीकरण गर्नुभएको थियो ।
तालिमको प्रमाणपत्र वितरण तथा समापनमा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आगामी आर्थिक वर्ष नगरक्षेत्र भित्रका असक्त तथा अपांगहरुको घरमा प्रत्येक महिना स्वास्थ्यकर्मी पुग्ने नीति नगरपालिकाले लिएको बताउनुभयो । चालु आर्थिक वर्षमा जेष्ठ नागरिकको घरमा स्वास्थ्य कर्मी पुग्नुका साथै ४० वर्ष माथिका नागरिकहरुको नसर्ने रोगको स्कृनिङ शिविर सञ्चालनमा रहेको र आउँदो वर्ष अपाङ्गता भएकाहरुको घरमै पनि पुग्ने उहाँको भनाई थियो । चालु आर्थिक वर्षमा अपाङ्गताको क्षेत्रमा पाँच लाख बजेट बिनियोजन भएको बताउँदै उहाँले यस्ता तालिम लिन चाहनेहरुले नगरपालिकामा निवेदन दिएको खण्डमा तालिमका लागि ग्रुप पुगेको खण्डमा तालिमको व्यवस्था नगरपालिकाले गर्ने बताउनुभयो । सांकेतिक भाषा तालिमले उपचार तथा न्यायमा पहुँचका लागि निकै सहज हुने केसीको भनाई थियो ।
२०७९ फागुन १५ देखि शुरु गरीएको नेपाली सांकेतिक भाषा तालिमको दुई महिने कार्यदिन पुरा भए पछि असार १६ गते समापन गरिएको म्याग्दी बहिरा संघका सचिव शंकर पाण्डेको भनाई थियो ।
अपांग संघका केन्द्रीय सदस्य सुरेन्द्र केसीले आफुलाई भएको समस्या भाषा ज्ञान नहुँदा व्यक्त गर्न नसक्दा अपांगहरु पिडित भएको बताउनुभयो । उहाँले अपांगता भएका महिलाहरु पिडित भएपनि व्यक्त गर्न नसक्दा सँधै पिडित भै रहनु पर्ने अवस्था रहेको उहाँको भनाई थियो ।
अपांग संघ म्याग्दीका अध्यक्ष गोरी दर्जीले ग्रामिण भेगमा महिलाहरु पिडित हुने गरेको भए पनि भाषाकै अभावका कारण हिंसा सहनु पर्ने अवस्था रहेकोमा अब त्यो अन्त्य हुने अपेक्षा गर्न सकिने बताउनुभयो ।
साधना कुमारी श्रेष्ठको सञ्चालनमा भएको समापन कार्यक्रममा प्रशिक्षक भानु बिक, सहभागीका तर्फबाट मिना बुढाथोकी, अपांग संघ म्याग्दीका उपाध्यक्ष गणेश सुवेदी लगायतले मन्तव्य राख्नु भएको थियो ।