सुत्केरी हुने ब्यथा लागेर कसैले फोन गरे भने बेनी नगरपालिका–४ तातोपानीमा रहेको सिंगा स्वास्थ्य चौकीका कर्मचारीले स्वास्थ्य चौकीमा नल्याउन सुझाव दिन्छन् । बेनी–दरवाङ सडक खण्ड नजिकै रहेको भए पनि स्वास्थ्य चौकी सम्म पुग्न निकै कठीन बाटो हिड्नु पर्ने अवस्थाले गर्दा त्यस्तो उत्तर दिने गरेका हुन् ।
सडक देखि सिधै ठाडो ५४ वटा सिडि चडेपछि मात्रै केही सम्मो बाटो आउँछ अनि बल्ल स्वास्थ्य चौकीमा पुगिन्छ । त्यही असहजता झेल्दै स्वास्थ्य चौकी सम्म बिरामीलाई पुर्याउनु भन्दा बिरामीहरू पनि ९ किलोमिटर टाढा रहेको जिल्ला सदरमुकाम तर्फ जानै सहज मान्छन ।
नेपालको संविधानको धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । त्यस्तै उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था गरिएको छ ।
संविधानले समान हकको व्यवस्था गरेको भए पनि सिंगा स्वास्थ्य चौकीमा समान हक पाउने अवस्था नै रहदैन । आकस्मिक तथा अन्य कुनै पनि स्वास्थ्य सेवा लिनका लागि सिंगा स्वास्थ्य चौकीमा त्यस क्षेत्रका नागरिकको सहज पहुँच पुग्दैन ।
सडक भन्दा माथि ठाडो उकालोमा सिडी चडेर जान असहज अवस्था हुने बेनी नगरपालिका–४ सिंगा का डण्डपाणी पौडेलको भनाई छ । हिमोफिलिया रोगबाट पीडित उहाँले आफूलाई दुखाइ बढेको खण्डमा फ्याक्टर लगाउनका लागि स्वास्थ्य चौकी सम्म पुग्नै नसकीने बताउनुहुन्छ । ‘हिड्न सक्दीन गाडी लिएर जाँदा पनि गाडीबाट झरेपछि स्टेचर सहित चार जना मान्छे भएन भने स्वास्थ्यचौकी सम्म पुग्नै सकिदैन’ ।
अपाङ्गता भएका, ह्वीलचियरमा आउने बिरामी, बैशाखी टेकेर आउने बिरामी एवम् अप्रेसन गरेर सुत्केरी भएका महिलाहरूको ड्रेसिङ गराउन पनि निकै समस्या भएको स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब हरिलाल अधिकारी बताउनुहुन्छ । ‘बिरामी आउनुहुन्छ बाटो सम्म तर माथि लैजान कि स्टेचर सहित केही सहयोगी मानिस खोज्नु पर्यो नत्र भने कुनै उपाय देखिदैन’ ।
सात वर्ष अगाडी एक करोड ३० लाखको लागतमा निर्माण भएको भवनबाट सेवा लिन सर्वसाधारणलाई कठीनाइ भएको छ ।स्वास्थ्य मन्त्रालयकै कार्यक्रम अनुसार तातोपानीमा स्वास्थ्यचौकी भवन निर्माण भएको थियो ।
बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले स्वास्थ्य चौकीमा जाने सडक निर्माण गर्नका लागि जग्गा किन्न खोज्दा पनि स्थानीयले नदिँदा समस्या भएको बताउनुभयो । पहिला स्वास्थ्यचौकी सम्म जाने सडक दिने सहमती भएपछि भवन निर्माण गरिएको भएपनि भवन निर्माण सम्पन्न भएपछि सडका लागि जग्गा नदिएकोले समस्या भएको उहाँको भनाई छ ।
अहिले १० लाख रुपियाँमा जग्गा किनेरै बाटो निर्माण गर्ने प्रस्ताव गरिएको भएपनि जग्गा नपाएकोले अब बिरामीहरूको सुविधाका लागि अन्य बिकल्प खोज्नु पर्ने कि जस्तो भएको अध्यक्ष खड्काको भनाई छ ।
लिलाधर अधिकारी र टेकबहादुर फगामीले पहिला जग्गा दिन्छु भनेपनि पछि नदिँदा समस्या भएको स्थानीयको भनाई छ । पहिला भवनका लागि बजेट पर्दा सडक दिने भनेर सहमती जनाएपछि निर्माण गरिएको भए पनि निर्माण सम्पन्न भएपछि सडक नदिदा बिरामीहरू उपचारका लागि जानै नसक्ने अवस्था छ ।
सिंगा स्वास्थ्य चौकीमा अहिलेको असहज बाटो हुँदा पनि फागुन तथा चैत महिनामा तीन सय भन्दा बढी बिरामी मासिक आउने र अन्य महिनामा सरदर दुई सय हाराहारी आउने सिनियर अहेब अधिकारीको भनाई छ । वार्षिक सरदर हेर्दा दैनिक १५ जनाको रेसियोमा बिरामीहरू उपचारका लागि आउने स्वास्थ्य चौकी सम्म जाने सडक नहुँदा बिरामीहरूले झन दुख व्यहोर्नु पर्ने बाध्यता रहेको छ ।