काठमाडौं, १४ मंसिर-सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसभित्र ५ नम्बर प्रदेश टुक्र्याउने विषयमा चर्काे विवाद देखिएको छ । सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस पदाधिकारीसहितको प्रभावशाली नेताहरूको बैठकमा विवाद देखिएको हो । संविधान संशोधनको विषयमा निर्णय गर्न बैठक बोलाइएको भए पनि पदाधिकारी तथा शीर्ष नेताबीच ५ नम्बर प्रदेशको सीमांकनकै विषयमा कुरा नमिलेको हो ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावको विषयमा जानकारी गराएका थिए । उनले बर्दियादेखि नवलपरासीसम्मको भूभाग पाँच नम्बर प्रदेशमा कायम राखी पहाडी जिल्लाहरूलाई छिमेकी जिल्लामा गाभ्ने विषय संशोधन प्रस्तावमा राखिएको जानकारी गराएका थिए ।
‘बर्दियादेखि नवलपरासीसम्मका भूभागलाई प्रदेश नम्बर ५ मा कायम गरी गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान र रोल्पालाई आसपासका प्रदेशमा गाभ्ने गरी संशोधन प्रस्ताव गरिएको छ,’ बैठकमा निधिको भनाइ थियो । उनको प्रस्तावलाई सभापति शेरबहादुर देउवाबाहेक सबैजसो नेताले असहमति जनाएका छन् ।
कांग्रेसको नीतिविपरीत प्रस्ताव आएकाले मान्न नसकिने अन्य नेताको भनाइ थियो । बैठकमा सभापति देउवाका अति विश्वासपात्र रक्षामन्त्री बालकृष्ण खाँडले समेत सीमांकनको विषयमा ल्याइएको प्रस्ताव मान्न सक्ने अवस्था नरहेको यथार्थबारे नेतृत्वलाई सचेत गराएका थिए । सभापतिले निर्णय गरेको अवस्थामा आफूले माने पनि प्रदेश ५ का जनताले अस्वीकार गर्ने उनको भनाइ थियो । राजधानी
Previous Articleसंविधान संशोधनमा बाबुराम र उपेन्द्र सहकार्य
Next Article सरकार विरुद्ध सडक संघर्षमा जाने मोर्चाको चेतावनी