-अमृत बास्कुने जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनीमा आयोजना भएको सडक दौड प्रतियोगितामा नेपाली सेनाको शत्रुभञ्जन गुल्ममा कार्यरत नबिन कार्की र रघुगंगा गाउँपालिकाकी सबिना बिकले पहिलो स्थान हासील गरेका छन् ।पुरुष तर्फ ८ किलोमिटर र महिला तर्फ ६ किलोमिटर निर्धारण गरिएको सडक दौडको पुरुष तर्फ बेनी नगरपालिका–५ पुलाचौर घर भै नेपाली सेनाको शत्रुभञ्जन गुल्ममा कार्यरत सीपाइ नबिन कार्कीले २३ मिनेट ५७ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो । त्यसैगरी धवलागिरी गाउँपालिकाका बिराज परियारले २४ मिनेट १३ सेकेण्डमा दौड पुरा गर्दै दोश्रो एवम् मालिका गाउँपालिका–६, का अर्जुन बिकले २५ मिनेट ०३ सेकेण्डमा दौड पुरा गर्दै तेश्रो स्थान हासिल गर्नुभएको छ ।
महिला तर्फ ६ किलोमिटर दौडमा रघुगंगा गाउँपालिका–३ पिप्लेकी सबिना बिकले १९ मिनेट ४५ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो । त्यसैगरी २० मिनेट १३ सेकेण्डमा दुरी पार गर्दै मंगला गाउँपालिका–५ अर्मनकी रिक्जना माझीले दोश्रो र २२ मिनेट ३९ सेकेण्डमा निर्धारीत ६ किलोमिटर दुरी पार गर्दै धवलागिरी बेकरी एण्ड रेष्टुरेण्ट, धवलागिरी गाउँपालिका ताकमकी मनिसा खत्रीले तेश्रो स्थान हासिल गर्नुभएको छ ।
पुरुष तर्फ विजयी खेलाडी प्रथमले आठ हजार, दोश्रोले पाँच हजार र तेश्रोले तीन हजार रुपियाँ नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । महिला तर्फ तर्फ प्रथमले पाँच हजार, दोश्रोले तीन हजार र तेश्रोले दुई हजार रुपियाँ नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले बताउनुभयो ।
पुरुष तर्फ खुल्ला सडक दौड प्रतियोगितामा ५४ वर्षिय छक्कबहादुर कार्कीलगायत २३ जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । त्यस्तै महिला तर्फ भने ७ जनाले प्रतिस्पर्धामा भाग लिनुभएको थियो । जिल्ला खेलकुद विकास समितिको अयोजना एवम् गण्डकी प्रदेश खेलकुद परिषद्को समन्वयमा आयोजित ८ किलोमिटर पुरुष र ६ किलोमिटर महिला तर्फको दौडमा कुल ३० जना खेलाडीहरु सहभागी भएका थिए ।
![]()