नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कालिगण्डकी नदीमा १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २९ औं वार्षिक साधारणसभामा आज उहाँले सो कुरा बताउनुभएको हो ।
म्याग्दीभित्र पर्नेगरी कालिगण्डकी नदीको पानीबाट १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको छ । नेपाल सरकारले १५ सय मेगावाटको पीपीए गर्ने भन्ने निर्णय भइसकेकाले त्यही समयमा यस क्षेत्रको पनि पीपीए हुने उहाँको भनाइ छ । अन्य काम सबै भएकाले अब पीपीएपछि निर्माणको काम थालनी हुने ढकालले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले देशैभरी हुने मेला महोत्सवहरु उद्योग बाणिज्य महासंघका सदस्यले मात्रै गर्नुपर्छ भन्ने माग आफूहरुले नेपाल सरकार समक्ष राखेको र त्यसलाई कार्यान्वयनको पाटोमा लैजाने पनि बताउनुभयो ।
जिल्लाका स्थानीय तहहरुले सम्भावित आयोजनाहरु, हाइड्रो, पर्यटन, तथा सम्भावित पर्यटन प्रवद्र्धनको सम्भावना रहेको क्षेत्र पहिचान गर्नुपर्ने र त्यसको बारेमा आफूहरुले जानकारी पाएको खण्डमा त्यस क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने ढकालको भनाइ छ । कुनै पनि क्षेत्रमा उद्योग, व्यवसाय तथा उत्पादन मुलक क्षेत्र साझेदारीमा सञ्चालन गर्न प्रयास हुने उहाँले बताउनुभयो ।
स्थानीय सरकारको तर्फबाट सकारात्मक प्रयास भएमा निजी क्षेत्रको साथ हुन्छ भन्दै कुनै पनि पूर्वधार विकासको क्षेत्रमा निजी क्षेत्रका तर्फबाट भरमग्दुर प्रयास हुने उहाँले बताउनुभयो । काठमाडौंको चन्द्रागिरि हिल्सजस्तै सातै प्रदेशमा पर्यटनका दृष्टिले उत्कृष्ट गन्तव्य पहिचान र लगानी गरिनु पर्ने उहाँले सुझाव दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ ठूलो संस्था हो त्यसैले व्यावसायिक कठिनाइ समाधानका लागि पनि नेपाल सरकारसँग पहल गर्दै अघि बढ्नु पर्ने उहाँले बताउनुभयो । देशैभरका कुनै पनि उद्योगी ब्यापारीको समस्याको समाधानसम्बन्धी माग कडाइका साथ सरकारसमक्ष राखेर समाधानका लागि प्रयास गरिने ढकालले बताउनुभयो ।