नेपाली समाजमा भन्ने गरिन्छ चिनी रोग लाग्यो भनेर । चिनी रोग लागेपछि गुलियो खानै हुँदैन भन्ने पनि गरिन्छ । आखिर के हो चिनी रोग भनेको र त्यो लागेपछि गुलियो खानै नहुने हो त? यस विषयमा चर्चा गर्नु आवश्यक होला । आज अंग्रेजी क्यालेण्डर अनुसार १४ नोभेम्बर अर्थात् विश्व मधुमेह दिवस । मधुमेहलाई नेपाली समाजले चिनी रोग भनेर पनि भन्ने गर्दछ । मधुमेहको चर्चा गरिनु पूर्व हामीले १६ वर्ष अगाडी तर्फ पनि ध्यान दिनु पर्छ । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र संघले पनि आधिकारिकता दिन थालेको कारणले पनि मधुमेह दिवसलाई सबैको माझमा पु¥याउने काम भएको हो । मधुमेह रोग र यो लाग्नुका कारण अनि रोकथामका उपायको जानकारी गराउनकै लागि आजको दिनको प्रयोग हुँदै आएको छ । मधुमेह निको नहुने रोग हो तर पनि केही सुरक्षा र सावधानी अपनाएको खण्डमा धेरै समय जिउन सकिन्छ भन्ने तर्फ कसैको पनि दुई मत छैन ।
मधुमेह दिवस १४ नोभेम्बरमा मान्न थालिएको चाहिँ यसको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै भएकाले हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए । यो वर्ष अर्थात् सन् २०२२ का लागि विश्व मधुमेह दिवसको नारा भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्वलाई यस वर्ष उजागर गरिँदै छ । हामीले स्मरण गर्नुपर्ने कुरा के हो भने यो जीवनशैली र वंशाणुगत कारणले बर्सेनि विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन् । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु पर्दैन ।
नेपालमा मधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनिरहेका हुन्छौँ । विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान भएको छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् । टाइप वान डायबिटिज र टाइप टु डायबिटिज दुई प्रकारका हुन्छन् । हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने डायबिटिज वा मधुमेहलाई टाइप वान डायबिटिज भनिन्छ । यो विशेषतः बच्चाहरूमा देखिन्छ । तर, यसको अर्थ अरू उमेर समूहका मानिसहरूमा यो हुँदैन भन्ने होइन । यसको एक मात्र उपचार इन्सुलिन दिनु हो । दोस्रो प्रकारको मधुमेह अहिले नेपालमा वा विश्वका मानिसहरूमा देखिने सबैभन्दा कमन डायबिटिज हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा टाइप टु डायबिटिज भनिन्छ । रोग जुनसुकै भए पनि त्यसको रोकथाम वा नियन्त्रण नै मुख्य साधक हो त्यसैले अबका दिनमा कुनै पनि रोगहरुबाट बच्न र रोक्नका लागि सबैले आ–आफ्नो स्थानबाट पाइला चाल्नुको बिकल्प छैन ।