निर्वाचनको समयमा हुन सक्ने विभिन्न गतिविधिहरुमध्ये मतदानको दिनमा हुने निकै जटिल कार्य हो फर्जी मत रोक्नु । फर्जी मत हाल्ने प्रक्रिया अनि तरिका फरक होलान् तर उद्देश्य भनेको कसैको मित्र वा कसैलाई मन परेको उम्मेदवारलाई जिताउनु नै हो । फर्जी मत रोकेको खण्डमा मतदाताको सहि छनौट आउने हो । कुनै पनि मतदाताले आफूले चाहेको स्थानमा मत हाल्न पाउनु उसको नैसर्गिक अधिकार हो । तर उम्मेदवार वा उम्मेदवारका मानिसले मतदाताको मत प्रभावित बनाउनका लागि र उनीहरुको चाहना विपरीतको स्थानमा मत संकेत गर्न बाध्य पार्ने कार्य नै फर्जी मत हो भन्दा फरक नपर्ला । किनभने कसैले सम्भावित केही चिन्हमा मत संकेत गर्न चाहेको भए पनि उसले चाहेको भन्दा अर्को स्थानमा मत संकेत गर्न बाध्य पार्नका लागि डर, धाक, त्रास, धम्की दिन्छन् भने त्यो कार्य पनि गलत कार्य हो । त्यस्ता कार्य मतदाताले मात्रै चाहेर हुँदैन । उम्मेदवार, राजनैतिक पार्टी तथा सुरक्षा निकायको पनि अग्रसरतामा नै यस्ता कार्यलाई न्युनीकरण गर्न सकिन्छ ।
पछिल्लो समय निर्वाचनमा हुने अस्वभाविक गतिविधि रोक्नु नै मुख्य चुनौती हो । विगतको इतिहास हेर्ने हो भने बुथ क्याप्चरका नाममा बन्दी बनाएर निश्चित केही व्यक्तिले नै मत खसाल्ने गरेको सुनिने गरेको भए पनि अहिले पछिल्लो समय भने त्यो अवस्था छैन तर पनि मत प्रभावित पार्ने कार्य धेरै हुने गरेका छन् । यदी कसैले आफ्नो पक्षमा मत संकेत गर्दैन भने उसलाई हुन्छ वा उसको परिवारभित्र आफ्नो पक्षलाई समर्थन गर्ने व्यक्ति हुन्छ त्यसलाई अड्¥याएर भए पनि उसको अधिकार हनन् गर्ने प्रयासमा दलहरु लागेका पनि पाइन्छ । परिवारको सदस्यको मत संकेत गर्ने नाममा उसको चाहना विपरीतको चिन्हमा मत संकेत गरेर नागरिकको मतदान गर्ने अधिकार हनन् गरिएको अवस्था पनि हुन्छ । निर्वाचन कानुनले निर्वाचनको दिनमा मत संकेत गर्न स्वयं व्यक्ति वा उसले नसक्ने अवस्थामा सम्बन्धित केन्द्रको मतदान अधिकृतलाई जिम्मेवारी तोकेको हुने भए पनि त्यस्तो हुन नसक्ने गरेको जनगुनासो पनि हुन्छ । एकै व्यक्तिले दर्जनौं व्यक्तिको मत संकेत गरिदिने परम्परा जस्तै बनेको देखिन्छ । त्यसैले सबै जनाको एउटै व्यक्तिले मत संकेत गर्दा कुनै पनि हालतमा मतदाताले चाहेको स्थानमा मत संकेत हुनेमा शंका हुन्छ ।
अब निर्वाचनको मतदान गर्ने दिन आउन मात्रै ७ दिन बाँकी छ । कुन–कुन निर्वाचन स्थलमा को–को कर्मचारी खटिने भन्ने टुंगो लागिसकेको छ । निर्वाचन अधिकृतहरुका लागि तालिम भैरहेको छ । अब भनेको मतदानलाई कसरी स्वच्छ बनाउने भन्ने मात्रै बाँकी छ भन्दा फरक नपर्ला । त्यसैले निर्वाचनको मतदान गर्ने दिनमा फर्जी मत रोक्नका लागि राजनैतिक दलसँगै मतदान गराउने कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुन्छ । किनभने मतदानको अघिल्लो र उही दिनमा नै हो मत प्रभावित पार्न धेरै हतकण्ड हुने । वारेसका नाममा हुने फर्जी मत रोक्नका लागि कडाइका साथ वारेसमार्फत मतदान गर्ने कार्य पूर्ण रुपमै निषेध गर्नु नै अहिलेको सबैभन्दा उत्तम उपाय हुन सक्छ । त्यसैले मतदानका लागि सबै तयार भए भएनन् भन्दा पनि फर्जी मत रोक्नका लागि वारिसे लगायतका अन्य गतिविधिहरु रोक्नेतर्फ अब मुख्य रुपमा मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।