राष्ट्रपति बिद्यादेवी भण्डारीले वातावरण सुहाउँदो प्रकारको विकास अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । हिमालपारीको जिल्ला मुस्ताङको हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
मुक्तिनाथ पुग्नुभएका राष्ट्रपति भण्डारीले वातावरणमैत्री तथा वातावरण अनुकुलको विकास आवश्यक रहेको बताउनुभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार राष्ट्रपति भण्डारीले वातावरणमैत्री विकास गर्दै मुक्तिनाथ क्षेत्रको विकास तथा प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कुनै पनि क्षेत्रको विकास गर्न आवश्यक रहे पनि वातावरण अनुकुलन हुनेगरी विकास भए मात्रै त्यसको दिगोपन हुने राष्ट्रपति भण्डारीले बताउनुभयो । प्रजिअ शर्माका अनुसार ३५ फिट अग्लो भगवान बुद्धको मूर्ति अनावरण र विष्णु भगवानको मुर्ति शिलान्यास एवम् ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ को पनि उहाँले उदघाटन गर्नुभयो ।
राष्ट्रपतिले मुक्तिनाथ मन्दिर परिसरका १०८ धारामा स्थान गर्नुका साथै मुख्य मन्दिरमा पूजा आराधना गर्नुभएको मुक्तिनाथ क्षेत्र विकास कोषका कार्यालय सचिव रविन सुवेदीले बताउनुभयो । उहाँले भगवान विष्णुको ३५ फिट अग्लो मुर्तिको शिलन्यास एवम् निर्माण भएको ३५ फिट अग्लो बुद्ध मुर्तिको उदघाटन गर्नुभयो ।
मुक्तिनाथम मन्दिरमा अहिलेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका पूर्व राष्ट्रपति रामबरण यादब लगायतका उच्च पदस्थ व्यक्तित्व दर्शनका लागि आउनुभएको सुवेदीले बताउनुभयो ।
विष्णु भगवानको मुर्ति निर्माणका लागि गैर आवासीय नेपाली संघ एनआरएनका पूर्व उपाध्यक्ष सोनाम लामाको अगुवाइमा गैर आवासीय नेपालीले झण्डै ८ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न हुने बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताउनुभयो । गत वर्षको कात्तिकमा पनि मुस्ताङको मुक्तिनाथमा राष्ट्रपति भण्डारी आउनु भएको थियो ।
सन् २०१९ मा भारतीय निर्वाचनको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण गर्नुभएको थियो । सोपछि भारतीय पर्यटकको आगमनमा बृद्धि भएको र राष्ट्रपतिको भ्रमणले थप टेवा पुग्ने विश्वास गाउँपालिकाका अध्यक्ष गुरुङले गर्नुभयो ।
विहान राष्ट्रपति भण्डारी जोमसोम स्थित नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टरबाट ल्याण्ड भई केहीबेर आराम गरी मुक्तिनाथ पुग्नुभएको थियो । मन्दिर परिसरमा रहेको १०८ धाराको जलस्नान पछि मुक्तिनाथको मुख्य मन्दिरमा पुजाअर्चना गर्नुभएको थियो । सोनाम लामाको अगुवाइमा निर्माण भएको लो मुस्ताङ हिमालयन रिसोर्टको उदघाटनपछि राष्ट्रपति भण्डारी जोमसोम हुँदै काठमाडौं फर्किनुभएको प्रजिअ शर्माले बताउनुभयो ।
राष्ट्रपति भण्डारी सहभागी हुनुभएको कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले, प्रभु ग्रुपका देवीप्रकाश भट्टचन लगायत कार्यक्रममा सहभागी हुनुभएको थियो । गोरखापत्रअनलाइनबाट
तस्बीर अमृत सुवेदी