आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि चुनावमा होमिएका राजनैतिक दलका उम्मेदवारहरु चुनाव प्रचारमा केन्द्रीत भएका छन् । अहिले उनीहरु ग्रामीण भेगमा घरदैलो र मतदातालाई भेटघाट गर्दै मतदान गर्दा बदर नहुने गरी मतदान गर्न समेत सिकाइरहेका छन् ।
प्रतिनिधि सभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा उम्मेदवारहरुले घरदैलोमा पुगेर मतदातालाई मत माग्नुका साथै मतदान कसरी गर्ने भन्ने विषयमा सिकाउन थालेका हुन् । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहितको टोलीले बेनी नगरपालिका–३, भकिम्लीको विभिन्न टोल र वस्तीमा पुगेर मतदातालाई मत बदर नहुने तरिकाले मतदान गर्न सिकाएको छ ।

उम्मेदवार श्रेष्ठले भन्नुभयो– ‘विगतमा भएका निर्वाचनहरुमा मत सङ्केत गर्ने क्रममा त्रुटी हुँदा धेरै मत बदर भएको अवस्थालाई मध्यनजर गर्दै त्यो अवस्थाबाट बाहिर निस्कनुपर्छ भन्ने सोँचका साथ मतदाता शिक्षामा समेत केन्द्रीत भएका छौंं ।’ उम्मेदवारहरुले मतदाता भेटघाटमा पुग्दा मत मात्रै माग्छन् भन्ने होइन मत सङ्केत गर्न र बदर मत कम गराउन पनि प्रयास हुने तरिकाले भोट माग्नुका साथै मतदान गर्ने तरिकाबारे सिकाएको बताएका छन् ।
यसैगरी वाम–लोकतान्त्रिक गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधि सभाका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बीर)सहितको टोलीले पनि बुधबार मंगला गाउँपालिका–५, अर्मनमा पुगेर घरदैलो र मतदाता भेटघाटसँगै मतदाता शिक्षामा केन्द्रीत भएको बताउनुभयो । मत माग्ने, भेटघाट गर्ने र सहि तरिकाले मत सङ्केत गर्नका लागि पनि सिकाउन आफूहरु केन्द्रीत भएको उहाँको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत म्याग्दी जिल्लामा मुख्य प्रतिस्पर्धामा गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा र नेकपा एमालेका हरिकृष्ण श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै प्रदेश सभा (क)मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हरि भण्डारी र एमालेका देवेन्द्रबहादुर कटुवाल, प्रदेश सभा (ख)मा गठबन्धनबाट माओवादीका रेशम जुगजाली र एमालेका यामबहादुर गर्बुजा चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिनिधि सभामा राप्रपाका जगतप्रसाद गौचन र प्रदेश (क)मा राप्रपाकै प्रविन शाहीले पनि सन्तोषनक मत प्राप्त गर्ने अपेक्षा गरिएको राप्रपा नेपालको प्रदेश सभा (ख)का उम्मेदवार झलकबहादुर बानियाँले बताउनुभयो ।