देवकी अभिलाषी
समयको परिवर्तन सँगसँगै मान्छेका सोच, विचार, चिन्तन र जीवनशैलीमा हुँदै गइरहेको परिवर्तनको सत्यलाई नकार्न सकिँदैन । एक्काइसौँ शताब्दीलाई समीक्षा गर्ने हो भने हाम्रो समाज र राष्ट्रमा पहिलेको तुलनामा आकाश र जमिनको फरक आएको छ । इतिहासलाई फेरि स्मरण गरेर हेर्दा हामी ढुङ्गे युगबाट बल्ल मात्र मान्छे भएका हौंँ भन्ने अनुभूति हुँदाहुँदै पनि पहिलेको समाज र अहिलेको समाजलाई तुलना गरेर हेर्दा मुलुक सामाजिक रूपान्तरणमा फड्को मारेको अवस्था छ । परिवर्तनसँगै मान्छेका सोचाइ र दृष्टिकोणमा पनि आमूल परिवर्तन आइसकेका छन् । यसलाई कसरी मर्यादित र व्यवस्थित तुल्याउने भन्ने ज्वलन्त प्रश्न भने उठिरहेको छ ।
आज आम नेपाली नारी विभिन्न युग र शताब्दीको कालखण्ड पार गर्दा पनि पित्तृसत्तात्मक सोच र चिन्तनको सङ्कुुचित घेराबन्दीबाट उम्किन सकेका छैनन् । बेलाबखत नारी उन्मुक्तिको बहानामा हरेक आन्दोलन भए पनि वास्तविकतामा खासै फेरबदल आएको छैनभन्दा फरक नपर्ला । कुनै युग किन नहोस् नारीहरू पितृसत्तात्मक अवस्थाबाट माथि उठ्न सकेको छैन । प्राचीनकालदेखि नै नारीहरू पुरुषार्थको शिकार भइरहेका छन् । नारीप्रति पुरुषले हेर्ने दृष्टिकोण नै साँघुरो छ, हरेक पक्षबाट पुरुषले नारीलाई केही रूपबाट भने अहिलेसम्म पनि दुर्बल मानिरहेकै अवस्था छ । समाज बदलिएको छ, व्यवस्था बदलिएको छ तर पनि नारीहरूलाई हेर्ने दृष्टिकोण खासै बदलिएको छैन । पहिलेको तुलनामा केही समानता त छ तर पनि न्यायोचितरूपमा कार्यनीति नै बनेको छैन नारीको हकमा । हाम्रो देशकै स्थितिबाट गुज्रेका धेरै राष्ट्र माथिल्लो तहमा पुगिसके ।
विकसित मुलुकमा नारी र पुरुषमा कुनै प्रकारको विभेद गरिदैन र उस्तै खालको सामाजिक बाहुल्य र अधिकार रहन्छ ।जसको कारणले उनीहरूलाई कुनै पनि सामाजिक, आर्थिक र राजनीतिक तìवहरूले खासै असर पार्दैन । राज्यका हरेक तहमा बराबर पहुँच हुन्छ । तसर्थ सबै क्षेत्रमा उनीहरूको समान सहभागिता रहेको हामीले सुन्दै र पढ्दै आइरहेका छौंँ तर समग्रमा हाम्रो देश भने अरूको तुलनामा निक्कै पछाडि छ । यसको मुख्य कारक तìव भनेको असमनता र राजनीतिक अस्थिरता नै प्रमुख कारण हो । नेपाल एक भौगोलिक दृष्टिकोणले पनि बहुआयामिक राष्ट्र हो । यहाँ विविध संस्कृति, रहनसहन, जातजाति, भाषा, भेषभूषाले पनि निकै अर्थ राखेको छ । नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका छन महिलाले । हरेक तह र तप्कामा झण्डै ८० प्रतिशतभन्दा माथि पुरुषकै बाहुल्य रहेको छ । राज्यले पनि आरक्षणका नाममा केही हदसम्म प्रयास त गरेको छ तर नीति निर्माण र निर्णायक तहमा पुरुषकै हलीमुहाली छ । राजनीतिक फाँटमा त झन् नारीहरूको उपस्थिति अत्यन्त कमजोर रहेको पाइन्छ । यदी कोही नारी माथिल्लो तहमा पुगिहाले भने पनि उनीहरूको मनोबल गिराउने काम भइरहेकै हुन्छ । के यही हो त समानता ? यही हो महिला अधिकार ? एकपटक सबैले सोच्नुपर्ने बेला आएको छ ।
हरेक दिन महिला हिंसाका घटना बढिरहेका छन् । पछिल्लो समयमा झन् यसले उग्ररूप लिएको छ । दुःखको कुरा सरकारको यसप्रति ध्यानाकर्षण देखिंँदैन यस्ता संवेदनशील विषयमा । यदि पुरुषवादी सोच र चिन्तनबाट मात्र देश चन्छ भने नारीहरूको के अस्तित्व रहन्छ त, यो बडो गम्भीर विषय बनेको छ । नारी पुरुष भनेका एक रथका दुई पाङग्रा हुन् भने एउटा पाङ्ग्रा मात्र गुडेर वा अगाडि बढेर के हुन्छ ? त्यसैले हरेक पुरुषले अब पितृसत्तात्मक सोचबाट मुक्त हुनुपर्छ र नारीहरूलाई पनि बन्धनबाट मुक्त गराउन खुला दिलले तयार हुनुपर्छ । अहिले पनि कतिपय महिला चुलो चौकामा मात्र सीमित रहनुपर्ने अवस्थामा छन् । यो अवस्थाबाट पार नभएसम्म जतिसुकै नारी स्वतन्त्रताको कुरा गरे पनि केही हुनेवाला छैन । यसमा समाजको सोच र चिन्तनमा परिवर्तन जरुरी छ । हाल मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीहरू पनि पुरातनवादी सोचलाई परास्त गर्दै बडो सङ्घर्षले त्यो स्थानमा पुग्न सफल भएको हो । आजको नारीले पनि यो सङ्घर्षलाई निरन्तरता दिन सक्नुपर्छ । त्यसैले सबभन्दा पहिले नारीहरूले आफ्नो मनोबल उच्च बनाउन जरुरी छ । कमजोर मानसिकताबाट सधैँं टाढा रहेर अगाडि बढेको खण्डमा नारीहरू पनि समानरूपमा पुरुषसरह सबै क्षेत्रमा अगाडि बढ्न सक्छन् यसमा दुईमत छैन ।