-अमृत बास्कुने
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा म्याग्दी उद्योग वाणिज्य संघको भवन छ । सोही भवनको भुईं तलामा पछिल्लो १५ दिनदेखि भित्तामा घोत्लिएर दिनभर एक युवाको समय बित्ने गरेको छ ।
अधिकांश मानिस बाहिरी दुनियाँसँग रमाइरहेको अवस्थामा भुईं तलाको भित्तामा सिसाकलमले आकृति कोर्ने र त्यसैमा रङ भरेर आकर्षक चित्र बनाउने कार्यमा लागिरहेका युवा हुन् अशोक किसान । भवनका भित्तामा मान्छे नै टिपेर टपक्क टाँसेर राखेको हो कि जस्तो गरी आकृति बनाउँदैमा अशोकको दिन बित्ने गरेको छ ।
बेनी नगरपालिका–४, तातोपानी निवासी बुबा पूर्णबहादुर किसान र आमा देवी किसानका छोरा अशोकका एक दिदी र एक बहिनी छन् । साबिक सिंगा गाविसको डाँडाखेत पुख्र्यौली घर भए पनि तातोपानीमा बस्न थालेको धेरै भएको उनी सम्झन्छन् । ‘धेरै लामो समय भएको छैन तर पनि व्यावसायिक तवरले काम गर्न थालेको आठ वर्ष बित्यो । म्याग्दीका प्रायः सबै क्षेत्रमा पुगेर भित्तामा चित्र कोर्ने काम गरेको छु । अहिले पनि सम्पर्क गर्नुभयो र यहाँ आएर काम गर्दैछु । सबै खर्च मिलाएर यहाँ काम गरेको पुगनपुग ५० हजार रुपैयाँको बिल उठ्छ होला,’ उनको अनुभव हो यो ।
बेनीको गणेश टोलमा किसानले नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाही, गौतम बुद्ध, म्याग्दीका कलाकार जीवन कार्की, चर्चित हिमाल आरोही निर्मल पूर्जा, राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन, चर्चित संगीतकार दिपक शर्मा, गायक प्रकाश दुतराज र भल्गर विविधजंग थापाको चित्र कोरिएको छ । कतिपय चित्रले पूर्णरुप पाएका छन् भने कतिपयको अन्तिम रंगरोगन बाँकी देखिन्छ ।
बाल्यकालदेखि नै चित्रकलामा रुची भएका किसानले वि.सं. २०६८ र २०६९ सालमा धौलागिरी माध्यमिक विद्यालय सिंगाको प्रतिनिधित्व गर्दै नेपाल रेडक्रस सोसाइटी म्याग्दीले आयोजना गरेको ‘छुवाछुतरहित समाज’ विषयक अन्तर मावि चित्रकला प्रतियोगितामा प्रथम स्थान गरेका थिए । जिल्लामा प्रथम हुँदै जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको चित्रकला प्रतियोगितामा सहभागी किसानले सन् २०११ र २०१२ मा राष्ट्रियस्तरमा दोस्रो स्थान प्राप्त गरेका गरेका हुन् । किसानले सहभागिता जनाएका प्रतियोगितामा रित्तो हात कहिल्यै फर्कन नपरेको बताइन्छ ।
चित्रकलामा २० प्रतिशत सामग्री खरिदमा खर्च हुने र ८० प्रतिशत मेहनत हुने उनको भनाइ छ । वाल आर्ट (भित्ते चित्र) नै अहिले प्रयोग भइरहेकोले त्यसमा आफ्नो ध्यान केन्द्रित गरेर अगाडि बढेका किसानले तीनदेखि नौ सय रुपैयाँ वर्ग फिटका दरले रकम लिने गरेको जानकारी दिइएको छ । चित्रमा प्रयोग हुने रङको आधारमा मूल्य निर्धारण गर्ने गरेका किसानको चित्रमा पेन्टर च्वाईस कलर बढी प्रयोग हुने गरेका छ । टिकाउ खालको चित्र बनाउँदा एक्रेलिक कलर प्रयोग गर्नुपर्ने र त्यो महङ्गो हुने भएकाले चित्रको मूल्य पनि बढी पर्ने उनी बताउँछन् ।
‘दिदी र बहिनी जापानमा, बुबाआमा र म तातोपानीमा बस्दै आएका छौंं । वार्षिक रुपमा हेर्ने हो भने सबै खर्च कटाएर झण्डै चारदेखि पाँच लाख बचत हुन्छ । पूर्ण रुपमा श्रम अनि एकाग्र भएर काम गर्नुपर्ने भएकाले भीडभाड, होहल्ला भन्दा पनि एकान्त क्षेत्र नै यो पेशाको लागि उचित र उत्तम माध्यम हो,’ अशोकले भने ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले स्थानीय युवाले गरेको प्रयासको उच्च मूल्याङ्कन गर्दै राज्यको तर्फबाट पनि उचित सहयोग हुनुपर्ने धारणा राखेका छन् । उनले व्यावसायिक तवरले युवाहरुलाई देशभित्रै सक्रिय बनाउन यस्ता प्रतिभावान युवालाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।