अमृत सुवेदी/जोमसोम
हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिका–५ नमखुलेकमा याक तथा चौरीको आलो रगत निकाल्ने कार्यक्रममा आन्तरीक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।
सदरमुकाम जोमसोमदेखि ठिनी हुँदै करिब ५ किलोमिटर कच्ची सडकको यात्रा एवम् ४५ मिनेटको पैदलयात्रा पछि मनमोहक नमखुलेंकमा पुगिने भएको हुनाले आन्तरीक पर्यटकहरु बढेको व्यवसायीहरु बताउँछन् ।
चौरी मेलामा ज्यूँदो चौरीलाई नियन्त्रणमा लिएर तालिमप्राप्त आम्जीले घाँटीमा नसा पत्ता लगाइ चाबोले नसा काटेर रगत निकाल्ने गरिन्छ । तालिम नभएका र अनुभव नभएका व्यक्तीले रगत निकाल्दा याक चौंरीको मृत्यु सम्म हुने भएकाले तालिम प्राप्त अनुभवी आम्जीले मात्र रगत निकाल्ने थासाङ गाउँपालिका नाउरीकोटका इन्द्रसिंह शेरचनले बताउनुभयो । रगत निकाली सके पछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौरी छाडिन्छ ।
मुस्ताङ जिल्ला भित्रका चौरी तथा याक पालन हुने खर्क क्षेत्रमा प्रत्येक वर्ष बैशाख र साउन गरेर दुई पटक रगत निकाल्ने र खाने मेला सञ्चालन हुँदै आएको छ । घरपझोङ गाउँपालिकाको नमखलेक र थासाङ गाउँपालिकाको मार्चे लेकमा पनि अहिले चौरीको रगत खाने मेला सञ्चालन भएको छ ।निलगिरी हिमालको फेंदमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिएको सुन्दर नमखुलेकमा याकचौँरीको आलो रगत खाने मेला भर्न पुगेका कसैले पनि मन खिन्न पार्ने अवस्था छैन । उक्त लेकमा पुग्दा याक चौरीको आलो रगत निकालेको दृष्य सँगै हिमालको काखमा पुग्दा स्वर्ग पुगे जस्तै अनुभव भएको त्यस क्षेत्रमा पुग्नेहरुको भनाइ छ ।
नमखुलेकमा पाँच जनाले पालेका झण्डै ५ सय हाराहारी याकचौंरी रहेको स्थानीय वासिन्दा पुरन गौचनले बताउनुभयो । उक्त स्थान पुग्नका लागि यातायातको साधनमा कच्ची सडक पार गरेपछि झण्डै ४५ मिनेट पैदल यात्रा पछि पुग्न सकिने स्थानीय वासिन्दा एवम् चौंरीपालक कृषक भूपेन्द्र शेरचनको भनाइ छ ।
चौंरी मेलाको भिडियो
लेकमा पाइने यार्सागुम्बा, पाँच औले, निरमसी, जटामसी, कुटुकी, वन लसुन, जिम्बुलगायतका जटिबुटी खाने भएकाले याकचौँरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने नाउरीकोटका इन्द्रसिंह शेरचनले बताउनुभयो । याकचौँरीको आलो रगत खानाले ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसर लगायतका रोगहरू निको पार्ने भन्दै आउने गरेको शेरचनको भनाई छ ।
साउन ४ देखि शुरु मेला १० गते सम्म रहने मेलामा बिहान र बेलुकामा दैनिक एक सय भन्दा धेरै मानिसहरु जोमसोमबाटै पुग्ने एवम् झण्डै एक सय हाराहारी त्यही लेकमै बसेर रगत खाने गरेका स्थानीयको भनाई छ ।
याकचौरी पाल्ने कृषकहरुका लागि आलो रगत निकालेर बेच्ने कार्य बैकल्पिक आम्दानीको श्रोत हो । एउटा वयस्क याक तथा चौंरीबाट अघिकतम ३५ गिलास सम्म रगत निकालेर प्रतिगिलास दुई सयमा बेच्ने गरिएको चौरीपालक कृषकको भनाई छ ।
याकचौँरीको मूल्य एक लाखदेखि एक लाख ३० हजारसम्म पर्ने र चिसो भूगोलमा हुर्काइएका याकचौंरीको मासु स्वादिलो र पोसिलो हुने हुनाले मासुको उच्च माग हुने गर्दछ । चौंरीबाट उत्पादीत दुधबाट दही, घ्यु, चिज र छुर्पीलगायतका परिकारहरू बनाएर बिक्री गर्ने गरिन्छ । चौंरीको सिङलाइ खच्चडको घाँटीमा झुण्डाइने घण्टीमा प्रयोग गरिन्छ भने पुच्छर धार्मिक पूजाआजामा चमरको रुपमा प्रयोग गरिन्छ ।
चौंरीको मल खेतबारीमा प्रयोग हुन्छ, मासु पनि उच्च माग हुन्छ, दुध, दही, छुर्पिको पनि माग धेरै छ भने ज्यूंदैमा समातेर झण्डै ३५ गिलास सम्म रगत निकालेर प्रतिगिलास २ सयका दरले बिक्री गर्ने गरिन्छ । कृषकले पालेको चौंरीको सबै चीजहरु बजारमा बिक्री हुने भएकाले यसलाई व्यवस्थीत पालन गर्न सकेको खण्डमा राम्रो हुन्छ ।
चौंरीमेलाका तस्बीरहरु