देवी जिसी
म्याग्दीको सिंगामा एकदिने पाठेघर सम्बन्धि शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाकोआयोजनामा आज (बुधबार) नगरपालिका वडा नं ४ सिंगाको शहरी स्वास्थ्य केन्द्रमा पाठेघर खस्ने रोगीको स्क्रिनिंग, रिंग पेशरी, तथा VIA जांच सम्बन्धि निशुल्क शिबिर संचालन भएको हो ।
शिविरमा महिला तथा स्त्री रोग बिशेसज्ञ साजना श्रेष्ठले महिलाहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला गौतमले शिविरमा ६० जना महिलाको परिक्षण गरिएको र कुनैपनि महिलाको जटिल खालको समस्या नरहेको समेत बताउनुभयो । नगरपालिकाले प्रत्येक वर्ष नगरपालिकाका सबै वडाहरुमा यो कार्यक्रम गर्दै आइरहेको छ।
पाठेघर सम्बन्धि समस्या धेरै महिलाले खुलेर नबताउने हुदा पाठेघरको मुखको क्यान्सर समेत हुने गरेको छ । जसका कारण पछिल्लो समय धेरै महिलाको ज्यान समेत जाने गरेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको समस्या उत्पन्न भइ क्यान्सरको समेत जोखिम बढी हुनेगरेकोे छ । बेलैमा उपचार गरे निको हुने पाठेघर सम्बन्धि समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम समेत बढिरहेको स्वास्थ्यकर्मी साजना श्रेष्ठले बताउनुभयो ।