काठमाडौं, ७ मंसिर – राप्रपाका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहालले अघि सारेको संविधान संशोधन प्रस्तावलाई पार्टीले समर्थन गर्न नसक्ने बताएका छन् । राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकता भएसँगै राप्रपा सत्तारुढ दल भए पनि प्रधानमन्त्री दाहालका हरेक मुद्दालाई समर्थन गर्न नसक्ने लोहनीले बताएका हुन् ।
‘हामी सत्ता पक्ष त हौं तर, संविधान संशोधन जस्तो विषयमा प्रधानमन्त्रीले जे ल्याउँछन्, त्यसमा सहीछाप गर्दैनौं’ लोहनीले भने, ‘संविधान केमा संशोधन गर्न खोजेको हो कन्टेन्ट नहेरी हामी समर्थन गर्दैनौं ।’ एकीकृत राप्रपाले संविधानमा रहेका आफ्ना असहमतिलाई कायम राख्दै भए पनि कार्यान्वयनमा जोड दिंदै आएको छ । संविधान संशोधनको कन्टेन्टमा सरकारले आफूहरुसँग छलफल नगरेको र सरकारले कन्टेन्ट दिएपछि त्यसबारे पार्टीमा छलफल गरी धारणा ल्याउने लोहनीले वताए ।
प्रधानमन्त्री दाहालले संसदमा संशोधन संसदमा दर्ता गराउन लागेको बारे आफूहरुलाई कुनै जानकारी नभएको पनि उनले वताए । ‘हामीसँग परामर्श भएको छैन, यसबारे हामीलाई सोधिएको समेत छैन । त्यसैले यसमा सरकारले ल्याउने संशोधनमा हामी समर्थन गर्न सक्दैनौं’ लोहनीले थपे । संसदको दोस्रो ठूलो दल एमालेको सहमति बिना संविधान संशोधन हुन नसक्ने भएकाले एमालेको सहमति महत्वपूर्ण हुने राप्रपाका नेताहरुको धारणा छ ।
‘जनमत कमजोर भएका र विवादित मधेशी नेताहरुका मागलाई सम्वोधन गर्ने तर एमालेजस्तो जनाधार भएको पार्टीलाई बाहिर राखेर गर्न खोजिएको संशोधनले संविधानको स्वीकार्यता बढाउँछ भन्ने पत्याउन सकिंदैन’ राप्रपाका अर्का नेताले भने, ‘संशोधनले समस्या समाधान गर्ने भन्दा बल्झाउने भयो भने त्यसले हित गर्दैन भन्नेमा हामी प्रष्ट छौं ।’ यसअघि राष्ट्रियता र सार्बभौमिकताबिरुद्ध हुने कुनैपनि संशोधन आफूहरुलाई मान्य नहुने पार्टी अध्यक्ष कमल थापाले पार्टी एकता सभामा सोमबार नै प्रष्ट पारेका थिए ।