पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढालाई मञ्चबाट लछारपछार गर्दै निकालिएको छ । हिजो दिँउसो भएको पहिलो तथा विशेष गाउँसभाबाट उनलाई तानेर निकालिएको हो ।
नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष बुढालाई नेपाली काँग्रेसबाट निर्वाचित वडा महिला सदस्य भीमकुमारी पुनले मञ्चबाटै तानेकी थिइन् । त्यसपछि गाउँ कार्यपालिका सदस्यमा मनोनित दलबहादुर खड्कासहितका जनप्रतिनिधिहरुले धकेल्दै बाहिर निकालेका हुन् ।
विषयगत समिति गठनको प्रस्तावमा चित्त नबुझेपछि वडाध्यक्ष बुढामाथि हातपात गरिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले विषयगत समिति गठनको प्रस्ताव छलफल गर्ने क्रममा असहमति जनाएको उनको भनाइ छ ।
‘यत्तिकैमा वडाध्यक्ष बुढालाई हातपात गर्दै तानेर बाहिर लगिएको हो’ उनले भने । काँग्रेसले विषयगत संयोजक नपाएपछि असहमति जनाउँदै विवाद सुरु गरेको अध्यक्ष गर्बुजा बताउँछन् ।
सोही कारण हिजो आयोजित गाउँसभा नै स्थगित गर्नुपरेको हो । प्रहरी प्रशासनअघि नै वडाध्यक्षमाथि हातपात गर्नु अपमानजनक भएको अध्यक्षको ठहर छ । त्यसैगरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले विषयगत समिति गठनको क्रममा सामान्य विवाद भएको जनाए ।
वडाध्यक्षलाई मञ्चबाट लछारपछार गर्दै ननिकालिएको उनको दाबी छ । अधिकृत काफ्लेका अनुसार हाल परिरिस्थिति सामान्य छ । हिजोको गाउँसभामा विभिन्न विषयमा छलफल भएको उनले जानकारी दिए । आफ्नो इच्छा पूरा नभएको आवेगमा आएर कुनै व्यक्तिमाथि हातपात गर्नु गैरकानुनी भएको काफ्लेको ठहर छ ।
सार्वजनिक कार्यक्रममा जनप्रतिनिधिलाई जबरजस्ती रुपमा तान्नुलाई सभाको मर्यादाविपरीत कार्य भएको संज्ञा दिइएको छ । यता, वडाध्यक्ष बुढाले आफूमाथि भएको अपमान र दुव्र्यवहारको कानुनी उपचार खोज्ने जनाएका छन् । सभा बहिष्कार गर्ने नाममा आचरण उल्लघंन गर्न नमिल्ने उनी बताउँछन् ।
गाउँपालिका अध्यक्षमाथि एकलौटी रुपमा विषयगत समितिका संयोजकले प्रस्ताव गरेको आरोपसमेत लागेको छ । नेपाली काँग्रेसबाट निर्वाचित निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले गाउँपालिका अध्यक्षले एकलौटी गर्न खोजेपछि आफूहरुले सभा बहिष्कार गरेको बताए ।
यसअघि गाउँसभाबाट गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्ताव गरेको मालिका गाउँपालिका, गाउँ कार्यपालिका, कार्यसम्पादन नियमावली–२०७९ र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन–२०७९ भने पारित भएको छ ।
श्रोत : https://www.janaaastha.com/archives/99875