स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा आएका प्रचार शैली र देखाइएका व्यवहारहरु हेर्दा अचम्म लाग्नु स्वभाविक हो । २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा भोट माग्न जाँदा जनताको खेतमा पुगेर धान काटेको फोटोले चर्चामा आएका थिए केही नेताहरु । तत्कालीन अवस्थामा मंसिरमा निर्वाचन हुँदै गर्दा धान काट्ने समय भएको थियो भने त्यही समयमा सबैको ध्यान धान काटेको तस्विरमा परेको थियो नै । यसपटक स्थानीय तह निर्वाचनको समयमा पनि त्यस्तो खास काम करिब सकिएको अवस्थाले गर्दा केही फरक हतकण्डहरु दलहरुले अपनाएको देखिन्छ । ग्रामीण भेगमा मकै गोड्ने समय आएकोले गर्दा पर्वत जिल्लामा नेताहरु घरदैलोमा पुग्दा मकै खनेरै भोट मागेको सुन्नमा आएको छ भने अन्य स्थानमा पनि त्यस्तै प्रसंगहरु आएकै छन् । यस पटकको निर्वाचनमा म्याग्दीको पनि केही माहौल तताउने खालका चित्रहरु पनि सतहमा आएकै छन् ।
ग्रामीण भेगमा चुनावी सभाका लागि पुग्दै गर्दा खाना खाएको भाँडा माझेको तस्विर तथा भिडियो पनि अहिले सार्वजनिक भएका छन् । नेपालका चर्चित जनवादी कलाकार बद्री पंगेनीले पनि आफूले खाएको थाल, कचौरा आफै पखालेर हिँड्ने गर्दछन् । उनी चर्चामा आए, आएनन् तर अहिले नेताहरुले खाना खाएको थाल पखालेरै चर्चा पाउन आवश्यक थियो थिएन भन्दा पनि संस्कार सिकाउन खोजेको भने पक्कै हो । आफूले खान सकिन्छ भने त्यसलाई सफा गर्न पनि सकिन्छ भन्ने सन्देश दिन भने खोजेकै हो । अहिलेको अवस्था हेर्दा चुनावी प्रचार शैली मात्रै भन्दा पनि कतिपय चिजहरुलाई आगामी दिनमा पनि फलो गर्नुपर्छ भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ ।
म्याग्दीको रघुगंगा गाउँपालिकामा उम्मेदवार मत माग्न जाँदा मतदाताले खुट्टा ढोगेर जितको शुभकामना दिए भनेर प्रचार गरियो । शुभकामना दिएको पक्का हो र खुट्टा ढोगेको पनि तस्विरमा देखिएको पक्कै हो । तर प्रचार किन गरियो र कुन तरिका अपनाइयो भन्ने केही फरक पक्कै हो । किनभने आफ्नी भान्जी घरमा आइपुग्दा मामाले खुट्टा ढोग्नु आफ्नो संस्कार हो । मतदाता र उम्मेदवार भन्दा पनि आफ्नो घरको भान्जी आउँदा मामाले संस्कारअनुसार खुट्टामा ढोगेर पारिवारीक संस्कार निभाएका हुन् । उनले भान्जीलाई जितको शुभकामना दिएकै हुन् । भान्जीले जितेको देख्न चाहनु मामाको दक्षिणा पक्कै हो । त्यसैले परिवारको सदस्यले कुनै पनि स्थानमा दावी गर्दै गर्दा जिताउन चाहनु र जितको शुभकामना दिनुलाई प्रचार सामग्री मात्रै बनाउने भन्दा पनि संस्कारको बारेमा पनि केही सिक्ने पो हो कि ? मेलम्चीमा हजारको नोट खुट्टामा राख्ने उम्मेदवार र म्याग्दीमा आफ्नी उम्मेदवार भान्जीलाई ढोग्ने मामाको तुलना पक्कै पनि गर्न मिल्दैन । कतै लोभ हुन सक्ला भने कतै संस्कार हुन सक्ला । तर पनि संस्कार जोगाउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता देखिन्छ ।
Previous Articleसबै पालिकामा चुनावी प्रचार सभा
Next Article गाउँपालिकाको ध्यान पूर्वाधार निर्माणमा केन्द्रीत