आउँदो वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा म्याग्दीको बेनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र वर्तमान सत्ता गठबन्धनले चुनाबी प्रचारप्रसार गरेका छन् । दलहरुले आसन्न निर्वाचनका लागि बेनी नगरपालिकाको विभिन्न स्थानमा पुगेर चुनाबी सभा र कार्यक्रम गरेका हुन् ।
यसैक्रममा हिँजो ९सोमवार० एमाले बेनी नगरपालिका कमिटीले बेनपा–४, डाँडाखेत, बेनपा–५, बगुवाखोला र बेनपा–६, छापमा चुनावी सभा सम्पन्न गरेको जनाएको छ । नेकपा एमालेबाट बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसी, उपप्रमुख पदका उम्मेदवार पशुपति शाही तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको टोलीले चुनावी सभा, मतदाता भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिएका हुन ।
सभालाई नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापा, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, बेनी नगर कमिटी अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी अध्यक्ष नारायण जिसी लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसीले नगरवासीको मुहार फेर्ने योजनालाई कार्यान्वयन गर्नका लागि सम्पूर्ण नगरबासीले सूर्य चिह्नमा मतदान गरी नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरे ।
यसैगरी उपप्रमुखका उम्मेदवार पशुपति शाहीले महिला सशक्तिकरण र जागरणका कार्यक्रम सञ्चालन गरी वडाका सवै महिलाहरुलाई आयआर्जनमा समावेश गराउने योजना अघि सारेको बताउँदै महिला, बालबालिका तथा ज्येष्ठनागरिकको सुरक्षा, अशक्त, असहायहरुको अभिभावकको रुपमा रहेर समेत काम गर्ने बताइन् । आर्थिक तथा सामाजिक सशक्तिकरणका कार्यक्रमलाई जोड दिने उनको योजना रहेको छ ।
यसैगरी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारको टोलीले पनि बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । सिंगा र तातोपानीमा कोणसभा गरेका मेयरका उम्मेदवार कांग्रेसका चिरञ्जीवी शर्मा र उपमेयरका उम्मेदवार माओवादीका ज्योती लामिछाने पौडेलको टोलीले डम्मरा, चुत्रेनी, कोठेसाँघु, बगुवाखोला, ठूलोखोला र राक्सेमा घरदैलो गरेका हुन् ।
संयुक्त टोलीले तातोपानीमा प्राकृतिक अस्पताल सञ्चालन गर्ने, खानेपानी आयोजना निर्माणलाई पूर्णता दिने, तल्लो र उपल्लो बजारको सडक व्यवस्थापन गर्ने, मसार, तातोपानी, राक्से, सिंगामा नदी नियन्त्रण, सिँचाइका योजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । मेयरका उम्मेदवार शर्माले बेनीलाई समृद्ध, सुन्दर, स्वस्थ, हराभरा नगरपालिकामा रुपान्तरण गर्न समग्र नगरको बृहत्तर गुरुयोजना बनाएर शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी, पहिरो तथा नदी नियन्त्रण, कृषि औद्योगिक विकास, सहरी योजना तयार गर्ने बताए ।
उपमेयरका उम्मेदवार ज्योती लामिछानेले गणतन्त्रको रक्षा, भौतिक पूर्वाधारको दीगो विकास, महिला, किशोरीको आर्थिक स्रोतमा पहुँचसहितको सशक्तिकरण, युवालाई रोजगारी र सुशासनयुक्त नगरपालिका बनाउने मुद्दा कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आह्वान गरिन् । कृषि उपजको भण्डारणका लागि नगर क्षेत्रमा कोल्ड स्टोर बनाउने योजना गठबन्धनले अघि सारेको उनले बताइन् । कार्यक्रममा दुवै पार्टीका जिल्लास्तरीय नेताहरुले पनि सम्बोधन गरेका थिए ।