हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगमा रहेका ज्येष्ठ नगारिकले परिवारका सदस्यबाट हेला तथा यातनाको शिकार भएको भएपनि आफूहरु बोल्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले त्यस्तो बताउनुभयो ।
ज्येष्ठ नगारिकको अधिकार सम्बन्धमा स्थानीय सरकारका नीति योजना, कार्यक्रम र बजेट कायान्वयन अवस्थाबारे सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सहभागी ज्येष्ठ नगारिकले आफ्नो गुनासो राख्नुभयो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधहरुले ज्येष्ठ नागरिकको विषयमा स्थलगत अध्ययन गरेको थियो ।
स्थलगत छलफलको क्रममा रघुगंगा गाउँपालिका–३ मौवाफाँट क्षेत्रमा ज्येष्ठ नागरिकले आफूलाई भएको पीडा, परिवारले गरेको व्यवहार सहन नसक्नेखालको भए पनि पुनः त्यही स्थानमा बस्नु पर्ने बाध्यता रहेको उहाँहरुको गुनासो छ । जेष्ठ नागरिकहरुले आफुले पाउने गरेको सामाजिक सुरक्षा भत्ता पनि परिवारका सदस्यहरुले धम्क्याएरै हडप्ने गरेको भए पनि चुपचाप बस्न बाध्य हुने गरेको बताउनुभयाे । उहाँहरुले कतिपय पाका मान्छेहरुलाइ बुढाबुढीलाइ किन पैसा चाहियो भन्दै परिवारका सदस्यले पैसा लैजाने गरेको भए पनि उनीहरुले बोल्न नसक्ने अवस्था रहेको भनाइ थियो ।
सदरमुकाम बेनीमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेद्र केसीले ज्येष्ठ नागरिकको सवालमा समाजमा जागरण गरिनु पर्ने बताउनुभयो । आफैमा परिवर्तन नभएसम्म कुनै पनि हालतमा बाबाआमाको सम्मान र उचित हेरचाहमा परिवार लाग्ने केसीको भनाई छ । जेष्ठ नागरिकको सवालका कार्यक्रम निकै महत्वपूर्ण भए पनि अहिले निर्वाचनको समय आएकोले मताधिकारको सँगै जेष्ठ नागरिकको हक हितको पनि सवाल उठाइनु पर्नेमा जाेड दिनुभयाे ।
जिल्ला न्यायाधीश तेजनारायण पौडेलले ज्येष्ठ नागरिकको पीडा परिवारसँगै जोडिएकाले बाहिर नआउने गरेको बताउनुभयो । न्यायाधीश पौडेलले परिवारसँगै बिबाद हुने भएकाले त्यस्ता समस्याहरु ज्येष्ठ नागरिकले नै बाहिर ल्याउन नचाहेको बताउनुभयो । न्याय क्षेत्रमा आफूले लामो समय अनुभव गर्दै गर्दा पनि जेष्ठ नागरिकहरुको बिषयमा कहिल्यै मुद्दा परेको आफूलाइ जानकारी नभएको बताउनुभयाे ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बेनी नगरपालिका क्षेत्रमा ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिएको बताउनुभयो । स्वास्थ्य परीक्षणका लागि उचित समन्वय गर्नुका साथै सम्मान एवम् मौसमअनुसार न्यानो कपडा वितरण गर्ने गरेको उहाँले बताउनुभयो । जेष्ठ नागरिकको सन्दर्भमा सामान्यतया स्थानिय निकायमा कार्यक्रमहरु अहिले सम्म नपाइएको भए पनि आगामी नीति तथा कार्यक्रममा जेष्ठ नागरिकलाइ समेट्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
नेपालको संविधानको धारा १६ मा उल्लेख भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट ज्येष्ठ नगारिक बञ्चित भएको अवस्था भए पनि त्यो बाहिर आउन नसकेको कार्यक्रमका सहभागीले बताएका थिए । कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बिमाको कार्यक्रम प्रभावकारी नभएको र त्यसले गर्दा जेष्ठनागरीकलाइ अझ बढी सास्त्ती भएको गुनासो गरेका थिए ।
बेनी अस्पतालका प्रतिनिधिले स्वास्थ्य बिमा बोर्डबाट बेनी अस्पतालले अहिले सम्म करिब २ करोड भुक्तानी पाउन बाँकी रहेको बताउनुभएको थियो । बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले अस्पतालले क्लेम गरेको २ करोड भन्दा बढी रकम भुक्तानी नपाएको कारण अब अस्पतालले बिमावाला नागरिकलाइ सेवा दिने नदिने अन्यौलको अवस्थामा पुगिएको बताउनुभयाे ।
कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले आफ्नो पालिकामा जेष्ठ नागरिकलाइ सम्मान, गर्ने तथा घुम्तीरुपमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरेको बताउनुभयो । उहाँले पालिकाको केन्द्र रहेको वडा नम्बर ३ बाहेक सबै वडामा टोलटोलमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने गरिएको बताउनुभयो । साथै उहाँले आगामी बजेटमा जेष्ठ नागरिकको सवालमा उचित कार्यक्रम ल्याइने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा, मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगाना, प्रहरी निरीक्षक सन्तोष पौडेल इन्सेक प्रतिनिधि अमृत बास्कुने, स्वास्थ्य कार्यालयकी प्रतिनिध दुर्गा शर्मा, स्वास्थ्य बिमा बोर्ड, गैरसरकारी संस्था महासं, जेष्ठ नागरिकहरु, सञ्चारीका समूहकी अध्यक्ष देवी जिसी लगायतका सरोकारवाला निकायका प्रमुख प्रतिनिधि एवम् ज्येष्ठ नागरिकको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय मानवअधिकार आयोग केन्द्रीय कार्यालयले गरेको थियो ।