अबको ४७औं दिनमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचनसम्बन्धी गतिविधिहरु गरिरहेको छ भने मतदाता नामावली पनि प्रकाशन भएको छ । पहिलो चरणको मतदाता नामावली संकलन बन्द भएर दावी, विरोधका लागि सूचना जारी भएको छ । अहिले पछिल्लो समय हेर्दा २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुरा भएका नागरिकहरुको नामावली निर्वाचन आयोगले प्रकाशन गरिसकेको छ । त्यसमा महिला ८० लाख ३० हजार ९ सय ८४, पुरुष ८२ लाख ११ हजार ९ सय ५४ एवं तेस्रोलिङ्गीको संख्या १ सय ७२ गरी कुल १ करोड ६२ लाख ४३ हजार १ सय १० जनाको नाम तथ्यांकमा देखिएको छ । अहिलेसम्म दावी विरोधपछिको संशोधित मतदाता संख्या आइनसकेको हुँदा अहिलेसम्म देखिएको मतदाता भनेकै निर्वाचन आयोगले अन्तिमपटक प्रकाशन गरेको संख्या नै हो ।
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अरुलाई उनीहरुकै चुनाव चिन्ह दिनैपर्ने भन्ने नरहेकोले गर्दा सूचना गरेर दलहरुलाई आफ्नो संगठनको विवरण माग गरिसकेको छ । त्यसरी माग गर्दा आफ्नै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुनका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले मात्रै आफ्नै चुनाव चिन्हबाट चुनावमा सहभागी हुन पाउने भन्ने भएपछि अहिले आएर पुनः त्यो विवाद पनि साम्य भैसकेको छ । अहिले सबैको ध्यान चुनावमै केन्द्रीत भएको भन्दा फरक नपर्ला । अहिलेको अवस्था हेर्दा र निर्वाचन प्रयोजनका लागि निवेदन दिएका ८० दलहरुमध्ये ७९ दलले नै आफ्नै चुनाव चिन्हबाट निर्वाचन सहभागिताका लागि पु¥याएको कागजातअनुसार नै अगाडि बढ्ने गरी निर्वाचन आयोगले दिएको निर्देशन पालना गरेको कारण अहिलेको निर्वाचन सबै दलहरुले आफ्नै चुनाव चिन्हबाट नै निर्वाचनमा सहभागी हुने भएका छन् । ६ वटा राष्ट्रिय मान्यता प्राप्त दल र अन्य ७३ पार्टीले आफ्नो कागजात पुरा गरेको हुँदा एक दल चुनावमै सहभागी हुने भएन भने अरु सबै दल आफ्नै चुनाव चिन्हबाट चुनावमा होमिने पक्का भएको छ ।
निर्वाचनको मिति नजिकिदै जाँदा सबै दलहरुले आ–आफ्नै दावी पेश गर्ने काम अगाडि बढाएकै छन् । ठूला दलहरुले आफ्नो चुनावी दौडाह सुरु गरिसकेका छन् भने अन्य साना दलहरु पनि आफ्नै होडमा छन् । अहिलेको अवस्था हेर्दा निर्वाचनमा होमिएर अगाडि बढ्नेहरुको भीड चानचुन पक्कै पनि छैन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले मजबुत पार्टी भएकाले गठबन्धन गरेर हराउनुपर्ने भन्दै अभिव्यक्ति दिन थालेका छन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि निर्वाचन प्रयोजनका लागि दर्ता भएका ७९ दलमध्ये आफूबाहेक अरु सबै एक भएर भीड्न चुनौती दिएका छन् । यसले पनि के देखाएको छ भने अब सबैको मिसन भनेकै २०७९ वैशाख ३० गतेलाई देखिएको छ । जनता अनि राजनैतिक पार्टीहरु सबैले वैशाख ३० गतेलाई अर्जुनदृष्टी बनाएर अगाडि बढेको कारण आसन्न स्थानीय तहको निर्वाचन हुने पक्का देखिन्छ ।