नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको ८ औं जिल्ला सम्मेलन बेनीमा शुरु भएको छ । दुई दिन सम्म चल्ने सम्मेलनको प्रमुख अतिथि अनेम संघकी राष्ट्रिय सम्मेलन आयोजक कमिटीकी संयोजक एवम् नेकपा एमालेकी पोलिटब्यूरो सदस्य थममायाँ थापाले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि थापाले नेकपा एमालेको सरकार ल्याएका राम्रा कामहरुलाई जनताले मनन गरेको बताएकी थिइन् । पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत रहेकी थापाले केपी ओली नेतृत्वको सरकारले श्रमिक, महिला, ज्येष्ठनागरिक तथा समग्र नेपाली समुदायको पक्षमा हुने काम गर्दै गर्दा अत्तालिएका दलहरुले अस्वभाविक गठबन्धन गरेर सरकार गिराउने खेल खेलेको बताएकी थिइन् ।
थापाले महिलाहरुले अब रुपान्तरणका लागि आन्दोलन र अभियान थाल्न पर्नेमा जोड दिएकी थिइन् । उनले सबै नीतिहरुको माउ नीति राजनीति भएकोले राजनीतिमा महिला सहभागिता मजबुत हुन पर्ने तर्क गरेकी थिइन् । महिलाहरुको हक हित र सहभागितालाई मजबुत बनाउनका लागि २००८ सालमा स्थापना भएको अनेम संघले अझै पनि धेरै काम गर्न बाँकी रहेकोले त्यसको जिम्मेवारी अबका नेतृत्वले पुरा गर्नु पर्ने बताइन् । थापाले महिलाले राम्रा काम गर्न सक्ने र गर्दै आएको भए पनि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन भने अझै पनि नसकेको बताएकी थिइन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापाले महिलाको नेतृत्वले आगामी दिनमा पनि मजबुत तबरले नेतृत्व गर्नु पर्नेमा जोड दिएका थिए । आगामी तीन तहको निर्वाचनमा महिला सहभागिता र त्यसलाई नतिजामुखी बनाउन पनि आजको समूहले सोच्नु पर्ने उनको जोड थियो । म्याग्दीका प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले देशका सबै तहको नेतृत्वमा पुग्नका लागि आफ्नो वडा तह देखि नै नेतृत्वमा पुग्ने र नेकपा एमालेलाई जिताउनका लागि भूमिका खेल्नु पर्ने बताएका थिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य नरदेवी पुनले प्रत्येक स्थानिय तहमा महिलाको अग्रसरता बढ्नु पर्नेमा जोड दिएकी थिइन् । महिलाहरुले देशका सबै तहको नेतृत्व गर्नु पर्ने र त्यसका लागि सक्षम महिलाहरु हुँदाहुदै पनि नेतृत्व गर्न नपाएको पुनको भर्ना थियो ।
नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र के.सीले मन्तव्य राखेका थिए । अनेम संघ म्याग्दीकी अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको कार्यक्रममा दीवा पुनले स्वागत गरेकी थिइन् ।