पछिल्लो समय निकै चर्चामा रहेको एउटा घटना हो नेपाली सिने क्षेत्रका चर्चित नाम पल शाह मुछिएको बलात्कार घटना । एक नाबालिकासँग शारिरीक सम्बन्ध राखेको भन्दै कुनै समय दिएको अभिव्यक्ति र उनले बालिकालाई दिएका धम्की अनि अरु पनि त्यस्तै घटनाहरुसँग जोडिएको प्रसंग । अहिलेको अवस्थामा हेर्दा नेपालको कानुनले नै १८ वर्षभन्दा कम उमेरको नारीसँगको यौन सम्पर्कलाई जबरजस्ती करणी मान्ने कारण पनि यस्ता सम्बन्ध अवैध पक्कै हुन् । पछिल्ला घटनाक्रम अनि पल शाहको अभिव्यक्ति र पीडितको भनाइलाई आधार मान्ने हो भने शाहले १५/१६ वर्षको उमेरमै शारिरीक सम्बन्ध कायम गरेको देखिन्छ । विभिन्न प्रलोभन देखाएर गरिएको यौनशोषण भन्दा फरक नपर्ला । विश्वकै कानुन हेर्ने हो भने मताधिकार प्राप्त गर्नका लागि पनि उमेर १८ वर्ष पुग्नुपर्छ । सरकारी सेवा वा अन्य जागिर खानका लागि पनि उमेर हद १८ वर्ष भएकै कारणलाई हेर्ने हो भने पनि कुनै पनि निर्णय लिनका लागि कम्तीमा पनि १८ वर्ष पुग्नुपर्ने मान्न सकिन्छ ।
अहिले पनि १८ वर्ष पुरा भैनसकेकी युवतीले पछिल्लो दुई वर्षमा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएपछि सुरु भएको घटनाको अध्ययन र त्यसक्रममा भएका गतिविधिको बारेमा पल शाहले दिएको बयानले पनि उनी दोषी हुन सक्ने भन्दै धेरैले अनुमान लगाएका छन् । तर उनको व्यवहार र भएको घटनाक्रमलाई हेर्दा बालिकाको पक्षमा बहस गर्ने वकिलहरुले शाहलाई बलात्कार कसुरमा १२ देखि १४ वर्ष कैद सजाय हुनुपर्ने माग दावी गरेका छन् । नेपालको मुलुकी (संहिता) ऐन–२०७४ मा भएको प्रावधानअनुसार पनि आरोपीत शाह दोषी मानिन्छन् । सञ्चारमाध्यमहरुमा आएका विभिन्न आधारहरु हेर्दा घटना भएको मान्न सकिन्छ भने यदि ती घटनाहरु भएका हुन् भने उनी पक्कै दोषी हुन् ।
कुनै पनि व्यक्ति १८ वर्षभन्दा कम उमेरमा आफू र आफ्नो बारेमा मात्र नभएर अन्य कुनै पनि गतिविधिहरुको बारेमा सोच्न सक्दैन । विभिन्न अन्तर्राष्ट्रिय प्रावधान अनि वैज्ञानिक अध्ययनले पनि देखाएको यही हो । यी र यस्तै अध्ययन अनुसन्धानले देखाएको आधारमा पनि १८ वर्षभन्दा कम उमेरका व्यक्तिले कुनै दीगोपनका बारेमा सोच्न सक्दैनन् । कसैले उक्साहटमा कुनै पनि गलत कदम चाल्न सक्ने सम्भावनालाई पनि नकार्न सकिदैन । अहिले नेपालको चर्चित घटना पनि त्यही प्रसंगसँग जोडिएको पाइन्छ । एकजना चलेको चलचित्रकर्मीसँग विवाह गरेर घरजम गर्न सकिने सम्भावनाको लोभ अनि उनले देखाएको सम्भावनालाई स्वीकार गरेर राखिएको यौन सम्बन्ध बलात्कार नै हो । मुलुकी ऐनको परिच्छेद १८ को दफा २१९ उपदफा ३ (ग) अनुसार १४ देखि १६ वर्षसम्मकी बालिकालाई बलात्कार गरेमा १२ देखि १४ वर्ष कैद सजाय तोकिएको छ । त्यसैले नाबालकसँग लोभ देखाएर गरिने कुनै पनि सम्बन्ध अपराध हुन् र त्यस्ता अपराधिक गतिविधिमा संलग्नलाई कानुन अनुसारको कारवाही गरी कानुनी राजलाई स्थापित गर्नुपर्ने आवश्यकता देखिन्छ ।