नेकपा एमालेको केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्माकुमारी अर्यालले संसदमा एमालेले उठाएका मागहरुको सम्बोधन हुनुपर्ने बताएकी छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले हिँजो (बुधबार) सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तत्र्रिmयामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सचिव अर्यालले एमालेले कारवाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदको विषयमा सभामुखले पक्षपातपूर्ण व्यवहार गरेकाले संसदमा अवरोध गर्नुपरेको बताउँदै एमालेले उठाएका मागको सम्बोधन नभएसम्म संसदमा अवरोध जारीरहने बताइन् । उनले नेकपा एमालेलाई विभाजनको बाटोमा पु¥याउन सभामुखले सहयोगी भूमिका खेलेको आरोप समेत लगाएकी छन् ।
एमालेले उठाएका मागको सम्बोधन नभएसम्म संसदमा पेस भएका कुनै पनि विधेयकको छलफलमा एमाले सहभागी नहुने बताउँदै सचिव अर्यालले संसदमा विरोध जारीरहेकाले सबैभन्दा पहिला एमालेले राखेको मागको सम्बोधन हुनुपर्नेमा जोड दिइन् । उनले एमालेले उठाएका मागको सम्बोधन भएपछि मात्रै संसदमा अन्य विषयमाथि छलफल र संसदको थप कारवाही अगाडि बढ्न सक्ने बताउँदै एमालेले संसदमा पेश भएका सबै विधेयकमाथि छलफल गर्ने वातावरण सरकारले बनाउनुपर्ने माग गरेकी छन् ।
पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी एमाले सचिव अर्यालले एमसीसीका विषयमा एमालेको धारणा के हो ? भन्ने प्रश्नको उत्तर दिँदै भनिन्– ‘एमाले पछिल्लो पाँच महिनादेखि संसदमा आफ्नो मागसहित विरोधमा उत्रिएको हुनाले अन्य विषयभन्दा पहिला एमालेले आफ्नो माग पुरा होस् भन्ने चाहन्छ ।’ उनले भनिन्, ‘एमालेले कुनै विषय आयो भने छलफलमा सहभागी हुने र अर्को विषय आएपछि विरोधमा उत्रने होइन, पहिलो कुरा संसद सहज रुपमा सञ्चालन गर्नका लागि सत्तापक्षले वातावरण बनाउनुप¥यो अनि त्यसपछि मात्रै अन्य मुद्दामा एमाले छलफलमा सहभागी हुन्छ ।’
अर्को प्रसङ्गमा पूर्व मन्त्री अर्यालले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर सत्ता गठबन्धनले न्यायालयलाई प्रभावित पार्न खोजेको आरोप लगाइन् । उनले एमालेको समर्थनविना संसदबाट महाअभियोग पास नहुने र एमालेलाई नसोधिकन महाअभियोग लगाइएको हुँदा अहिलेको अवस्थामा नेकपा एमाले विरोधमै रहेकाले त्यसको विषयमा पनि छलफलमा सहभागी नहुने बताइन् ।
सचिव अर्यालले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)सम्बन्धी कुनै पनि सम्झौतामा नेकपा एमालेको संलग्नता नरहेको बताइन् । उनले एमसीसी सम्झौता गर्ने कार्यमा पनि यसअघि वर्तमान सत्तारुढ गठबन्धनको संलग्नता रहेकाले संसदमा दर्ता भएको अवस्थामा सरकार बहुमतमा भएको र पास गर्न चाहेमा सहजै पास हुने भएकाले तत्काल एमाले यस बारेमा बोल्न आवश्यक नभएको बताइन् ।
एमसीसीको बारेमा एमालेलाई अनावश्यक विवादमा तान्ने प्रयास गरिएको बताउँदै उनले एमाले सरकारका पालामा सम्झौताका कुनै पनि प्रक्रियामा हस्ताक्षर र सहभागी नभएको बताउँदै एमसीसीमा एमालेले आफ्नो पोजिशन क्लियर गरेपनि सत्ता गठबन्धनकै जिम्मेवारी भएको बताइन् । सत्तारुढ गठबन्धनसँग नेकपा एमाले एक्लै चुनाव लड्न तयार रहेको पनि सचिव अर्यालको भनाइ छ । कार्यक्रम प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत तथा सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।