आज १६ फेब्रुअरी । दुईदिन अघि १४ फेब्रुअरीका दिन प्रेमका प्रतिक सन्त भ्यालेन्टाइनलाई सम्झदै विश्वले प्रेम दिवस मनायो । विश्वको त्यो हवालाले हाम्रो मुलुकलाई पनि हल्लायो । नेपालका कुनाकन्दराहरुमा समेत प्रेम दिवसको तयारी एवं सेलीब्रेसन भव्य नै गरियो । तर त्यही समयमै पर्ने श्रीस्वस्थानी ब्रततर्फ भने ध्यान पक्कै पनि दिइएन । प्रेमका प्रतिक भ्यालेन्टाइनलाई सम्झने हाम्रो समाजले आफ्नो प्रेमी (पति)माथि भएको अभद्र व्यवहार तथा अपमान सहन नसकेर अग्नीकुण्डमा हाम फालेर प्रेमका लागि बलिदान गर्ने सतीदेवी अनि आफ्नी पत्नीको वियोगमा बेहोसी हुँदै पत्नीको मृत शरिर बोकेर भौतारिने महादेवलाई सम्झनातर्फ लाग्दैनौं । पौष शुक्ल पूर्णिमाको दिनबाट सुरु भएको श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवत् रुपमा समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि थन्क्याउने गरिन्छ ।
यसवर्ष पनि स्वस्थानी कथाका अध्यायहरूमा हामीलाई सतीदेवीको बलिदानदेखि गोमा ब्राह्मणीको दुःख, दक्ष प्रजापतिको घमन्ड, दम्भलगायत पृथ्वीको सृष्टि जस्ता धेरै कुराहरूले ज्ञान अनि प्रेरणा दिएको हुनुपर्छ भन्ने आशा गर्न सकिनेछ । यसवर्ष पनि सबैले श्रीस्वस्थानी ब्रत कथा सुन्ने काम पक्कै पनि गर्नुभयो । प्रेमका प्रतिक, प्रेम माथिको विश्वास भरोसा अनि प्रेम गर्नेहरुलाई सबैले सम्झनेछन् भन्ने जस्ता मूलमन्त्रलाई मनन् गरिएकै हुन्छ । सतीदेवीको त्याग, दक्षप्रजापतिको घमण्ड अनि महादेवको प्रेमलाई कदापी कसैले भुल्न सक्दैन । गएका पुस्ताले आउने पुस्ताका लागि छाडेर जाने मुख्य कुराहरूमा संस्कार अनि परम्परा पनि अत्यन्त महत्वपूर्ण कुरा हो । नेपालीजनमा यस्ता संस्कार अनि परम्पराको ठूलो मूल्य अनि महत्व छ । यस्तै एउटा सदियौं पुरानो संस्कार हो, श्री स्वस्थानी माताको ब्रत कथा पनि ।
विभिन्न दस्ताबेज अनि लेखहरूमा स्वस्थानी ब्रत कथालाई महिलाहरूले मात्र गर्ने कठिन ब्रतका रुपमा चित्रण गरिए तापनि यो विशेष आस्था र देवादीदेवसँग जुटेको स्वस्थानीको ब्रत अनि महिमा पुरुषहरूले पनि गर्ने गरेको पाइन्छ । यस अर्थमा स्वस्थानी परमेश्वरीको ब्रत अनि आराधना महिला पुरुष दुवैले गर्ने अनि शुभ फल प्राप्त गर्ने जनविश्वास र जनउक्ति छ । यो ब्रत बस्नाले शान्ति, सुख, समृद्धि अनि आध्यात्मिक चेतनामा वृद्धि भई सु–स्वास्थ्य कायम रहने जनविश्वास छ । वैदिक सनातन हिन्दुजनको अपरिहार्य यो ब्रत कथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति र श्रद्धाका साथ पूजाअर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पुरा गर्ने यी देवी स्वस्थानीको चारवटा हात छन् र ती हातहरू चक्र, त्रिशुल, तलवार अनि कमलको फुलले सुशोषित छन् । यसको खास अर्थ भनेको चार हातमा भएका चार चिज अर्थात् धेरै शक्ति भन्ने हो । त्यसैले प्रेममा शक्ति हुन्छ र विश्वासले संसार जिताउन सक्छ भन्नेतर्फ ध्यान दिनु पक्कै जरुरी हुन्छ ।
Previous Articleरुप्से दैनिक ! ०३ फागुन २०७८
Next Article कसरी हेर्ने इमर्जिङ नेपालकाे आईपीओको रिजल्ट