भोजपुर, ५ मंसिर – भोजपुर बजारमा आइतबार अपरान्हदेखि भीषण आगलागी भएको छ । अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । आज अपरान्ह साढे चार बजेदेखि भोजपुर बजारको भोटेपसल लाइनमा लागेको आगलागीले अहिलेसम्म तीनघर पूर्ण रुपमा जलेको छ । बजारमा घनाबस्ती रहेकोले आगो निभाउन कठिनाइ भइरहेको भोजपुर प्रहरीले जनाएको छ ।
अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणमा जुटिरहेका छन् । आगलागी नियन्त्रणको लागि एउटा दमकल र एउटा डोजर परिचालन गरिएको छ । कहाँबाट आगलागी सुरु भयो र अहिलेसम्म कति भौतिक क्षति भयो तथ्याङ्क आइसकेको छैन ।
घर-घरमा ग्यास सिलिन्डर रहेकोले आगो नियन्त्रणको लागि कठिनाइ भएको उद्धारमा खटिएका प्रहीले जनाएका छन् । सिलिन्डर पड्कने डरले स्थानीयहरु त्रसित छन् । आगलागी भएको ठाउँ वरपरका स्थानीयहरु टुँडिखेलमा उपस्थित भएका छन् ।