राज्यको आफ्नो उत्पादन वा अन्य चिजभन्दा पनि सामान्यतयाः सरकारले आयात र निर्यातमा लगाउने करबाट नै मुलुकको विकास निर्माण हुने हो । यही आयात र निर्यातमा लिइने करलाई भन्सार भनिन्छ । भन्सार भन्नाले एउटा देश र अर्को देशबीच सिमानामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । कुनै पनि देशको विकास अनि उन्नति हुन्छ भने त्यसका लागि प्रमुख आर्थिक स्रोत भनेकै राज्यले उठाउने कर हो । राज्यले कर उठाएन भने उसको आम्दानीको अन्य स्रोत सायदै नहुन सक्छ । नेपाललाई दुई ढुड्डा बीचको तरुलका रुपमा परापूर्वकालदेखि नै व्याख्या गरिँदै आएको छ, भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरु छन् । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले थप ६ ओटा नाकाहरु चीनतर्फ सञ्चालनमा ल्याएको थियो । तर कोरोना भाइरसको संक्रमणको जोखिमलाई बाहना बनाउँदै वर्तमान सरकारले पूर्ण रुपमा सञ्चालन ल्याउन सकेका छैन । भारततर्फको पनि पारवहान सन्धीलाई ओली सरकारले नवीकरण गरेरै नयाँ बनाएको र त्यसतर्फ पनि पुरै नाकाहरु फुलफेजमा चलाउन वर्तमान सरकारले सकेको छैन ।
हाम्रो दैनिक जीवनमा चाहिने वस्तु अनि सेवाहरुको सरल र सहज आपूर्तिका लागि भन्सारको ठूलो महत्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरु तिनले खपत गर्ने हरेक थोपा इन्धनहरु अनि हाम्रो भान्सा कोठामा भएका प्रत्येक चिम्टी नुन समेत भन्सारकै नाका भएर आएको हो । हामीले बिहान उठेदेखि सुत्ने बेलासम्म प्रयोग गर्ने सबै प्रकारका सामग्रीहरु प्रायः विदेशी छन् । हामीले चिया पिउने कपदेखि लिएर प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात् कचौराहरु, चम्चाहरु, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामान, लत्ताकपडाहरु अनि प्रयोग गरिने मोबाईललगायत कम्प्युटरहरु यी सबै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका हुन् । हामीले देखेको देश विकासका कदमहरु चाहे ती बाटो, स्कुल बनाउनेदेखि पुल र अन्य भौतिक पूर्वाधारहरु अनि विकासका अन्य मापदण्डप्रति सरकारको लगानीहरुमा धेरैजसोका स्रोतहरु राजश्व नै हुन् ।
चीनसँगको भन्सार नाकाहरु हुँदै वा भारतसँगका नाका हुँदै ठूल्ठूला मालवाहक गाडीमा आउने सामानहरु हाम्रो जीवनरेखाको रुपमा रहेका छन् । हरेक वर्ष जनवरी २६ तारिखका दिन संसारभरी भन्सार दिवस मनाइन्छ । यस दिनमा भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार संगठनले तय गरेको हो । नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम तथा गोष्ठीलगायत नागरिक उत्प्रेरणात्मक कार्यसहित जानकारीमूलक कार्यक्रमहरु गरेर भन्सार दिवस मनाइन्छ । हामी सबैले आफ्नो दायित्वमा पर्ने खालका भन्सार तिर्नमा पछि नहटौं । यसबाट मुलुकले विकासमा फड्को मार्नेछ । नेपाल एउटा भूपरिवेष्ठित देश भएकाले हामी नेपालीहरुका लागि भन्सारको महत्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरुमा आयात वा निर्यात गरिने सामानहरुको लेखाजोखा राखिन्छ, देशको कानुनअनुसार कर लगाइन्छ र मापदण्डअनुसार पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रुपमा देशले विकास निर्माण, सुरक्षा आदि अनेक देश हितमा सरोकार राख्ने गतिविधिहरूमा प्रयोग गर्दछ । भन्सार अनि वैदेशिक सन्धी सम्झौतालाई देशको पक्षमा हुने गरी काम गर्नका लागि वर्तमान सरकारको ध्यान जान सकोस्, भन्सार दिवसको शुभकामना !